महेश पाण्डे
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले रत्ननगरमा रहेका साहित्यिक स्रस्टा तथा कृतिकारहरुको सम्मान गरेको छ । सोमबार सौराहामा आयोजित रत्ननगर क्षेत्रको साहित्य, संगित तथा कलाको उत्थानको लागि आयोजित साहित्य सेवा तथा सम्मान कार्यक्रममा रत्ननगरमा रहेका ३ जना साहित्यकार तथा रत्ननगरका श्रष्टाहरुले प्रकाशन गरेका ९ वटा कृतिलाई सम्मानका साथमा नगद सहित पुरस्कृत गरिएको थियो ।

सो कार्यक्रममा रत्ननगरमा रहेर साहित्यको क्षेत्रमा कलम चलाउने साहित्यकारहरु केशवराज आमोदी, मोदनाथ मरहठ्ठा र विश्वनाथ खनाललाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

उनिहरुलाई रत्ननगरका मेयर नारायण वन तथा उप मेयर बिमला देवि दुवाडीले दोसल्ला सहित नगद पुरस्कारले सम्मान गरेका थिए ।

त्यस्तै नगरपालिकाले साहित्यकारहरु रामबाबु घिमिरद्धारा लिखित निवन्ध संग्रह केन्द्र र परिधि, इश्वरी ओझाद्धारा लिखित महाकाब्य अविश्रान्त अवनी, श्यामजी अतिथिद्धारा लिखित रत्ननगरका विभिन्न धार्मिक संस्थाको चिनारी, गिरिधारी घिमिरे विशिष्टद्धारा लिखित जीवनका भोगाईहरु, धनराज गिरीद्धारा लिखित लघुकथा संग्रह साथी, डा.कृष्णप्रसाद पौडेलद्धारा लिखित कम्मरी देखि कोभिड सम्म, पर्यटन ब्यवसायी तथा साहित्यकार सुमन घिमिरेद्धारा लिखित अग्रेजी कविता संग्रह साइक्लोन अफ फायर, दुर्गा कुमार पुरीद्धारा लिखित निबन्ध संग्रह फरक र मिरा तिमिल्सिनाद्धारा लिखित मुक्तक संग्रह आशु सुकेको छैनलाई नगद सहित पुरस्कृत गरेको थियो ।

सम्मान ग्रहण पश्चात स्रस्टाहरुको तर्फबाट बोल्दै साहित्यकार केशवराज आमोदीले ढिलै भएपनि रतननगर नगरपालिकाले रत्ननगरमा छरिएर रहेका साहित्यकारहरुको पहिचान गरि सम्मान गरेकोमा खुसी ब्यक्त गरे ।

उनले यसरी गरिने सम्मानले साहित्यकारहरुको हौषला बृद्धि हुने बताउदै नगरपालिकालाई धन्यवाद पनि ब्यक्त गरे ।

कृति लेखनबाट सम्मानित ब्यक्तित्व साहित्यकार रामबावु घिमिरेले नगरपालिकाको सम्मानले आफुहरु प्रफुलित, उत्साहित र खुसी भएको बताए ।

उनले नगरपालिकाले साहित्य क्षेत्रको उत्थानको लागि गरेको सो कार्य राम्रो भएको बताउदै त्यसलाई निरन्तरता दिनुपर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर वनले आफु सानैदेखि साहित्य सुन्नमा रुचि राख्ने ब्यक्ति भएको बताउदै रत्ननगरका रत्नहरुको ढिलै भएपनि सम्मान गर्न पाउदा खुसी लागेको बताए ।

उनले कला, साहित्य र संस्कृति मार्फत रत्ननगरलाई राष्ट्रिय रुपमा चिनाउन कवि, साहित्यकारहरुले खेलेको भूमिका अहम रहेको भन्दै कला, संस्कृति र साहित्यको उत्थानको लागि नगरपालिकाले गर्नुपर्ने जिम्मेवारी पुरा गर्न पछि नपर्ने बताए ।

मेयर वनले कवि तथा साहित्यकार रत्ननगरको रत्न र सम्पती भएको बताउदै साहित्यकारहरुको सम्मान र संरक्षण गर्नु स्थानीय सरकारको दायित्व पनि रहेको धारणा ब्यक्त गरे । उनले रत्ननगरलाई साहित्यिक हव बनाउन के गर्न सकिन्छ त्यसको लागि साझा धारणा बनाउन सबैलाई आग्रह गर्दै सो बिषयमा असार १८ गते हुने नगर सभामा निर्णय गराउने बाचा पनि ब्यक्त गरे ।

रत्ननगर नगरपालिकाकी उप प्रमुख बिमला देवी दुवाडीले आफुलाई साहित्य र कवितासँग जोडिदा आनन्दको अनुभुती हुने गरेको बताइन् । उनले साहित्यिक स्रस्टाले कुरिति बिरुद्ध लड्न लिड गर्न सक्ने बताउदै त्यसको लागि सबैजना एक भएर लाग्नु पर्ने धारणा ब्यक्त गरिन ।

उनले नगरपालिकाले आयोजना गरेको सो कार्यक्रम गर्न केहि ढिलो भएपनि रत्ननगरका रत्नहरुको सम्मानको लागि अगाडि बढिरहने बाचा गरिन् । उनले सो कार्यक्रममा आफ्ना २ वटा कविता पनि प्रस्तुत गरेकी थिइन् ।

साहित्यकार भनेको अर्काको मन भित्र पसेर अरुको भावनामा बग्न सक्ने ब्यक्ति भएको बताउदै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलले युवा पुस्तालाई साहित्यको क्षेत्रमा आकर्षण बढाउन लाग्नु पर्ने धारणा ब्यक्त गरे ।

उनले अहिलेका युवा पुस्ता मोबाइल र कम्प्युटरको डिजिटल दुनियामा हराइरहेकाले साहित्यको माध्यमबाट उनिहरुलाई अगाडि बढाउन सहज हुने धारणा ब्यक्त गरे ।

कार्यक्रममा मुख्य आकर्षण रहेका कवि सुदेश सत्यालले एकल कविता बाचन गर्दा हल तालिले गुञ्जयमान भएको थियो । उनले आफ्ना रचनाहरु बालुवाटार देखि, दार्जलिङसम्म अनि बिदेशमा गएका युवालाई नेपालमै फर्किआउ सम्म भनि रहदा सबैका आँखा रसाएका थिए ।

सो कार्यक्रममा कवि तथा गजलकारहरु मिरा मरहठ्ठा, कमल अर्याल, सुमन घिमिरे, मीरा तिमिल्सिना, विश्वनाथ खनाल, डा.कष्ण पौडेल, गिरिधारी घिमिरे, मोदनाथ मरहठ्ठा, धनराज गिरी, तिलकराज शर्मा, इश्वरी ओझा लगायतले रचना बाचन गरेका थिए ।

त्यस्तै कार्यक्रमका सञ्चालक समेत रहेका साहित्यिक सर्जक राजेन्द्र हमालले कार्यक्रम सञ्चालनकै दौरान आफ्ना साहित्यिक रचनाहरु वाचन गर्दा कार्यक्रमकोनै रौनक थपिएको थियो ।

रत्ननगर वडा नं २ का वडाध्यक्ष तथा साहित्यकार तिलकराज शर्माले स्वागत मन्तव्य राखेका सो कार्यक्रम नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १० का वडा अध्यक्ष केशव आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया