चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ । आज (विहीवार) देखि ८० बर्ष माथीका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

उनले नगर भित्र ८० बर्ष माथीका करिब एक हजार जना ज्येष्ठ नागरिक रहेको बताउदै रत्ननगरका १६ वटा वडामानैे एक—एक जना स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । तिन वर्ष अघि सुरु गरिएको सो कार्यक्रमलाई निरन्तरता दिदै सो कार्यक्रमलाई अगाडी बढाइएको पौडेलले बताए । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पुरा गरी स्वास्थ्य परीक्षण गरिने पौडेलको भनाई छ ।
स्वास्थ्यकर्मी घरमै पुगेर ज्येष्ठ नागरिकको सुगर प्रेसर परीक्षण गर्ने र आवश्यकता अनुसार स्वास्थ्य परामर्श दिने पौडेलले बताए ।
सो कार्यक्रमको तयारीका लागि बुधवार नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रशिक्षण पनि दिएको थियो । सो प्रशिक्षण कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख पौडेलनै गरेका थिए ।
सो प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर नारायण वनले स्वास्थ्यकर्मीहरुलाई सुगर परीक्षण गर्ने गुल्कोमिटर, प्रेसर परीक्षण गर्ने मेसिन हस्तान्तरण गरेर जिम्मेवार भएर काममा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।

उनले ज्येष्ठ नागरिक हाम्रा अभिभावक भएको बताउदै उनीहरुको रेखदेख र स्वास्थ्य परीक्षण गर्नु आफुहरुको दायित्व रहेको बताए । उनले देखाउनका लागि नगरपालिकाले सो काम नगरेको भन्दै सम्पूर्ण स्वास्थ्यकर्मीले परिणाम निश्किने गरी काम गर्न आग्रह पनि गरे ।
सो कार्यक्रमको अध्यक्षता नगरपालिकाको सामाजिक बिकास समितिका संयोजक केशव आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।











