
चितवन । पूर्वी चितवनमा आएको बाढीका कारण प्रभावित परिवारलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले राहत वितरण गरेका छन् । रत्ननगर – ८, रमाइलो बस्तीका बाढीबाट विस्थापित २० परिवारलाई सुरक्षित स्थानमा राखी नियमित रुपमा खाना खुवाइएको छ ।
लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ वाइल्डलाइफ सिटी र लायन्स क्लब अफ चित्रसेन बाबाको सक्रियतामा बाढीपीडित २० परिवारका १०० जना भन्दा बढीलाई बछौली स्थित ग्रीन सोसाइटी पब्लिक स्कुलमा राखेर नियमित खाना खुवाइएको हो । उनीहरूलाई आफ्नो घरमा सुरक्षित रुपमा फर्कन नसक्दासम्म यो सहयोग निरन्तर जारी राख्ने कार्यक्रम संयोजक लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ का जोन चियरपर्सन शिरलाल परियारले बताए ।
नयाँ लायन्स वर्ष शुरुवातसँगै सोही क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न वितरण समेत गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बछौली उपशाखाको समन्वयमा ३३ परिवारलाई खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक परियारले बताए ।
दैवी प्रकोपका कारण यस क्षेत्रका कसैलाई पनि गासबासको समस्या नहोस् भन्ने भावनाबाट प्रेरित भएर सौराहा क्षेत्रका लायन्स क्लब मिलेर राहत वितरण कार्यक्रम गरिएको लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पका अध्यक्ष दीपेन्द्र खरेलले बताए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ का डिस्ट्रिक को चिफ एड्भाइजरद्धय दीपेन्द्र खतिवडा र योगेन्द्रनाथ अधिकारी, रिजन चियरपर्सन ओमलाल सापकोटा लगाएतको उपस्थितिमा राहत वितरण गरिएको हो ।
गत विहीबारदेखि शुरू भएको विस्थापित परिवारलाई खाना खुवाउने कार्यक्रम निरन्तर जारी रहेको लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पका सचिव सुरज पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिएका छन् ।