देवघाट। वालबालिकाहरुको हकहित र संरक्षणको निम्ति २०२१ मार्चदेखि विधिवत् रुपमा सञ्चालनमा रहेको किवानिज क्लव अफ नारायणीले आफ्नो क्लवको शुभारम्भ एवं पहिलो कार्यक्रम अन्तर्गत सोमबार लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम्)का बालिकाहरुलाई शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रमको आयोजना गरेको छ ।

किवानिज क्लव अफ नारायणीका संस्थापक अध्यक्ष बद्रीनाथ पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा किवानिज क्लव अफ नारायणीका इलेक्टेट प्रेसिडेन्ट ध्रुबराज ढुङ्गाना, कोषाध्यक्ष राजु खड्का, सह–कोषाध्यक्ष गीता पौडेल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेल, युनिक लो बुटिकका सञ्चालिका राधा शर्मा, महिला उद्यमीहरु ज्या पौडेल पराजुली, दिपिका श्रेष्ठ खड्की, किवानिज क्लव अफ नारायणीका सदस्यता बिस्तार समितिका सदस्यहरु डण्डप्रसाद दवाडी, राजेश भुजेल, शोभा खड्का, मिना गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

किवानिज क्लव अफ नारायणीका संस्थापक अध्यक्ष बद्रीनाथ पोखरेलले संस्थाको परिचयसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा संस्थाकी सह–कोषाध्यक्ष गीता पौडेल र राजेश भुजेलको शुभजन्मदिनको अवसरमा बालिकाहरुलाई शैक्षिक सामाग्री वितरण एवं खाना खुवाइएको थियो ।

चितवनकी सफल महिला उद्यमी, सामाजिक अभियान्त एवं समाजसेवी एवं किवानिज क्लव अफ नारायणीकी सह–कोषाध्यक्ष गीता पौडेलले भरतपुर महानगरपालिका वडा नम्वर १ देवघाटमा रहेको रामजानकी बालिका आश्रममा आश्रीत बालिकाहरुको लागि खाना खुवाउनको लागि आवश्यक व्यवस्थापन, क्लवका अर्का सदस्य राजेश भुजेलको जन्मदिनको अवसर पारेर रु ५ हजार नगद र कार्यक्रमका अतिथि चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेलबाट रु ५ हजार नगद सहयोग गर्नुभएको थियो ।

शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रममा बालिका आश्रमको तर्फबाट बालिकाहरुले स्वागत भजनहरु प्रस्तुत गरेका थिए । भने कल्याणी लोककल्याणी, आश्रमका महासचिव रामेश्वर खनाल, अध्यक्ष साबित्री टण्डनले आ–आफ्नो धारणा राखेका थिए ।
किवानिज क्लव अफ नारायणीका सचिव नविन निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई किवानिज क्लव अफ नारायणीका संस्थापक अध्यक्ष बद्रीनाथ पोखरेलले समापन गर्नुभएको थियो ।

रामजानकी बालिका आश्रम ः

रामजानकी बालिका आश्रमले आमाबाबु तथा आफन्तको संरक्षणबाट टाढा रहेका नानीहरुलाई साहारा र शिक्षा दिदै आएको । बालिकाहरुलाई संस्कृति शिक्षामा अगाडी बढाउने उद्देश्य अनुरुप उनीहरुलाई देवघाटकै सिताराम संस्कृत माध्यमिक विधालयमा गुरुकुलीय शिक्षामा आधुनिक र आध्यात्मिक शिक्षा दिईदै आईरहेको छ । आश्रममा बालिकाहरु बिहान साढे चार बजे उठ्छन । योग, ध्यान, मन्त्रोच्चारण बार अनुसारका नित्य कर्म गर्दै यसरी नै उनीहरुको दैनिकी सुरु हुन्छ ।

श्री राम जानकी बालिका आश्रमलाई विशेष गरी सावित्री टण्डन र रामेश्वर खनालले संरक्षण गरिरहेका छन् । अध्यक्ष टण्डनलाई उनीहरु ‘सावित्री आमा’ र महासचिव खनाललाई ‘मामा’ भन्दै आमा र मामाको मायाको अनुभुती पाईरहेका छन् बालिकाहरुले ।
आश्रमकै लागि अहिले भरतपुर महानगरले उपलब्ध गराएको जग्गामा तीन तले भवनको निर्माण कार्य तीब्र रुपमा बढिरहेको प्रतिष्ठानकी अध्यक्ष सावित्री टण्डनले बताउनुभयो । अभिभावकबाट संरक्षण नपाएका छोरीहरुले पढ्न पाउनुपर्छ उनीहरुलाई माया र संरक्षणको खाँचो रहेको र नानीहरुको लागि छिट्टै भवन निर्माण हुनेमा विश्वस्त रहेको उहाँ बताउनु हुन्छ । आश्रममा हाल ३३ जना बालिकाहरुलाई संरक्षण गरिदै आइरहेको अध्यक्ष टण्डनले बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया