
रासस
काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख मात्रा कोरोना खोप अनुदानस्वरुप दिने भएको छ । शुक्रबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवासँग अपराह्न भएको शिष्टाचार भेटमा नेपालका लागि चीनकी राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले खोप सहायताका निम्ति चिनियाँ सरकारप्रति आभार प्रकट गर्दै कोभिड–१९ विरुद्धको प्रतिकार्य र पुनःआरोग्य प्राप्तिमा नेपाललाई थप सहयोग प्राप्त हुनेमा आफु विश्वास रहेको बताए ।
सो अवसरमा दुवैजना बीच नेपाल–चीन सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । राजदूत यान्छीले कोरोना खोप सहायता लगायत अन्य माध्यमबाट पनि कोभिड–१९ महामारी विरुद्धको नेपालको लडाइँमा चीनबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।