महेश पाण्डे
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले श्रावण १ गते देखि ५ गते सम्म सञ्चालन गरेको खोप अभियान कार्यक्रम रोकिने पक्का भएको छ । करिब ७ हजार जनालाई लगाउने लक्ष्य भएपनि जिल्ला जनस्वास्थ्य कार्यालयबाटनै खोप नआएका कारण खोप अभियान बिचमानै रोक्न पर्ने स्थिति आएको स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
शनिवार सम्म ४४२४ भाइल कोरोना खोप आएकोमा ४४२१ जनाले खोप लगाइसेको र अब आइतबार ६ सय भाइल मात्र खोप आउने भएकाले सरकारले तोकेको लक्षित समूह छुट्ने पक्का भएको पौडेलको भनाइ छ । उनले अहिले भेरोसिल नामको कोरोना खोप देशभरिनै अभाव भएकाले केहि दिन भित्र फेरि आएपछि खोप कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

फाईल तस्विर

यसअघि रत्ननगर नगरपालिकाले असार ३० गते सुचना निकालेर बि.सं. २०२३ साल सम्म जन्म भएका अर्थात ५५ वर्ष उमेर समूह र सो भन्दा माथिका उमेर समूहका यस अघि कुनै पनि खोप नलगाएका तथा खोप लगाउन छुट भएका ब्यक्तिहरु, बिश्व बिद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सह—चालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी ब्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु, अक्सिजन उत्पादन गर्ने उद्योग तथा डिपोका कर्मचारीहरु, औषधी उत्पादन गर्ने उद्योगका कर्मचारीहरु र पेट्रोल पम्पमा काम गर्ने कर्मचारीहरु लगाएतलाई भेरोसिल नामक खोपको पहिलो मात्रा लगाउने जानकारी दिएको थियो ।

जस मध्ये यातायात क्षेत्रका, ग्यास उद्योगका, औषधी क्षेत्र लगाएतलाई श्रावण ५ गते खोप लगाउने भनिएकोमा आइतबारनै खोप सकिने भएपछि सो समूह छुट्ने पक्का भएको हो । आइतबार पनि ६ सय भाइल मात्रै खोप आउने भएकाले सबैले खोप नपाउने निश्चित प्राय भएको छ ।
पौडेलले आइतबार जम्मा २ वटा स्वास्थ्य केन्द्र रत्ननगर अस्पतालमा र पञ्चकन्या स्वास्थ्य केन्द्रमा मात्र खोप कार्यक्रम चल्ने बताए । उनले रत्ननगर अस्पतालमा रत्ननगर वडा नं. ३ र ४ साथै पञ्चकन्या स्वास्थ्य केन्द्रमा रत्ननगर वडा नं. १२ र १३ का वडावासीलाई खोपमा प्राथमिकता दिएर लगाइने बताए ।

तपाईको प्रतिक्रिया