महेश पाण्डे
चितवन । एक प्यान एक खोपको ब्यवस्था गर्न माग गर्दै पूर्वी चितवनमा रहेका उद्योग वाणिज्य संघद्धारा जिल्ला प्रशासन कार्यालय चितवनको ध्यानाकर्षण गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ तथा राप्ति उद्योग वाणिज्य संघका अध्यक्ष सहितको प्रतिनिधि मण्डलले बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारीद्धय भिम प्रसाद भट्टराई तथा चिरञ्जीवी शर्मालाई ज्ञापन पत्र बुझाउदै एक प्यान एक खोपको ब्यवस्था गर्न माग गर्दै ध्यानाकर्षण गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीद्धयको ध्यानकर्षण गर्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले खोपको विषयमा प्रशासनलाई पहिला पनि पत्र पठाइएकोमा कुनै सुनुवाई नभएकोमा दुःख ब्यक्त गरे ।

उनले ब्यवसायी भनेको देशको आर्थीक मेरुदण्डसँग जोडिएको बिषय भएकाले जिल्ला प्रशासन कार्यालय चितवनले १ प्यान १ खोपको ब्यवस्था गर्न आफुहरुको माग रहेको बताए ।

श्रेष्ठले देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको आम उद्योगी व्यवसायीहरुलाई यदि अबको पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराईएन भने व्यवसाय नै बन्द गरेर ताल चावी सरकारलाई हस्तान्तरण गर्न बाध्य हुने धारणा ब्यक्त गरे ।

खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठले खोप अभियानलाई भनेर चितवनमा ३५ हजार खोप आएकोमा पूर्वी चितवनलाई आवश्यकता भन्दा कम खोप दिने गरेकोमा दुःख ब्यक्त गरे ।

उनले खैरहनी चलार्ईएकोे खोप अभियानमा लक्षित समूह अझै पनि छुटेको बताउदै सो समूहलाई कति आवश्यक हो सो को डाटा निकालेर मात्र खोप अभियान चलाउन प्रशासनको ध्यानाकर्षण गरे ।

त्यस्तै राप्ति उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेलले कम्तिमा पनि प्यानमा दर्ता गरेर व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई खोप लगाउने वातावरण सरकारले बनाउनु पर्ने धारणा ब्यक्त गरे । उनले पूर्वी चितवनमा उद्योग वाणिज्य संघमा आवद्ध लगभग १० हजार उद्योग व्यवसायी रहेकाले छिटो भन्दा छिटो खोपको व्यवस्था गर्न आग्रह पनि गरे ।

रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले विगत ५ महिना भन्दा अगाडि देखिनै आफुहरुले ब्यवसायीले खोप लगाउन पाउने पर्ने माग राखेको भएपनि कुनै सम्बोधन नभएकोमा दुःख ब्यक्त गरे ।

उवासंघको ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालय चितवनले स्वास्थ्य मन्त्रालय र प्रदेशको स्वाथ्य निर्देशनालयको निर्देशन अनुसार काम गर्ने भएकाले खोपको बिषय आफुहरुको पहुचमा नरहेको जिकिर गरे ।

देशैभरिको आंकडालाई हेर्ने हो भने चितवनबाट खोपको माग उच्च रहेको बताउदै प्रशासनको पहलले मात्रै खोप आउने सम्भव नदेखिएकाले सो विषयमा केन्द्रिय तहमानै सबैले समन्वय गर्न आग्रह पनि गरे । उनले कोभिडको असहज परिस्थिति धेरै समय नजाने र सरकारले पनि खोपलाई मुख्य प्राथमिकतामा राखेकाले खोप लगाउने माहोल चाँडै बन्नेमा आफु बिश्वस्त रहेको बताए । उनले खोप ब्यवस्थापनको संयोजक प्रमुख जिल्ला अधिकारी हुने भएपनि प्रजिअबाट अनुगमन मात्रै हुने कुरा भने प्रष्ट पारे ।

रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ तथा राप्ति उद्योग वाणिज्य संघद्धारा प्रशासनमा बुझाइएको ज्ञापन पत्र यस प्रकार रहेको छः—

विश्वभर फैलिएको कोरोना (कोभिड १९) ले विश्व समुदायलाई भयभित बनाएको अवस्थामा यसको संक्रमणबाट धारणाम नीजि क्षेत्रले ठुलो आर्थिक र भौतिक रुपमा क्षति व्यहोर्नु परिरहेको पिडादायी अवस्था रहेको छ ।

कोरोना संक्रमणबाट बच्ने उपाय मध्येको सबै भन्दा उत्तम उपाय खोप नै हो भनेर विश्व संगठनले भनिरहेको र नेपाल सरकारबाट केही क्षेत्र, वर्ग र उमेर समुहलाई प्राथमिकतामा राखि पहिलो र दोश्रो चरणको खोप लगाउने कार्य गरिसकिएको छ । राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको आम नीजि क्षेत्रका हामी उद्योगी व्यवसायीहरुलाई नेपाल सरकारले यो खोप पाउनुपर्ने पहिलो प्राथमिकतामा नराख्नु दुर्भाग्य नै हो ।

नीजि क्षेत्रका आम उद्योगी व्यवसायीहरु पहिला आफू सुरक्षित रहे मात्र उद्योग व्यवसाय संचालन गरी आयोपार्जन, रोजगारीको सृजना गरि अर्थतन्त्र मजबुत बनाउनमा योगदान र सहयोग गर्न सक्षम हुन्छन भन्ने कुराको नेपाल सरकारले हेक्का राख्नुपर्ने कुरामा दुईमत नै छैन होला । त्यसैले ’एक प्यान एक खोपको’ अनिवार्य सुनिश्चित गरियोस ।

कोभिड १९ को संक्रमणका समयमा पनि आम उद्योगी व्यवसायीहरुले आफ्नो जिउधनको प्रवाह नगरी अग्रपंक्तिमा खटिएर सर्वसाधरणलाई सेवा उपलब्ध गराईरहका छन, राष्ट्रको अर्थतन्त्रलाई टेवा पुयाउने गरि आर्थिक क्षेत्रलाई चलायमान बनाउदै राजश्व तथा कर संकलनमा समेत आफ्नो क्षमता अनुसार योगदान गरिरहेको छ ।

राष्ट्रको आर्थिक क्षेत्रको मेरुदण्डका रुपमा रहेको उद्योगी व्यवसायीहरुलाई कोभिड १९ को भ्याक्सिन पाउनुपर्ने पहिलो प्राथमिकतामा राखेर खोपको सुनिश्चितता गरिदिनका लागि नेपाल सरकार सम्बन्धित निकायहरुमा बारम्बार उद्योग वाणिज्य संघहरुले आवाज उठाउँदै आईरहेको यहां समक्ष जानकारी गरादछौं ।

नेपालमा खोप उपलब्ध भएको वर्तमान अवस्थामा नेपालमा रहेका उद्योगी व्यवसायीहरुलाई विगतमा जे भएतापनि अबको पहिलो प्राथमिकतामा राखेर नेपाल सरकारले ’एक प्यान एक खोप’ को आधारमा खोप लगाउने व्यवस्था गरिदिनु हुन विनम्रतापूर्वक आग्रह गर्न चाहन्छौं ।

देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको आम उद्योगी व्यवसायीहरुलाई यदि अबको पहिलो प्राथमिकतामा राखे खोप उपलब्ध गराईएन भने हामी व्यवसाय बन्द गरेर चांवि हस्तान्तरण गर्न बाध्य हुने छौं ।

तपाईको प्रतिक्रिया