महेश पाण्डे
चितवन । रत्ननगर नगरपालिकाले ब्यवसायीको माग बमोजिम कोरोना खोप लगाउन सुरु गरेको छ । आफुसँगै जोडिएको खैरहनी नगरपालिकाले केहि दिन अगाडिनै निर्णय गरेर ब्यवसायीलाई कोरोना खोप लगाउन सुरु गरेपछि दबावमा रहेको रत्ननगर नगरपालिकाले अन्नतः आईतबार रत्ननगर उद्योग वाणिज्य संघ तथा उद्योग संघमा आवद्ध रहेका ब्यवसायीलाई पनि खोप दिने निर्णय गरेको हो । त्यसको लागि नगरपालिकामा दर्ता भई तथा नविकरण गरेको भने हुनुपर्ने शर्त अगाडि राखिएको छ ।

त्यसोत नगरपालिकाले सौराहामा रहेका पर्यटन, आवास, होटल, रिसोर्टमा कार्यरत कर्मचारी तथा ब्यवसायीलाई १ हजार डोज जनसन कम्पनिको खोप दिने निर्णय भने पहिलेनै गरि सकेको थियो ।

ब्यवसायीसँगै नगरपालिकाले सहकारी, खानेपानी, बिमा कम्पनि, बित्तिय, नेट केबुल, पशु स्वास्थ्यकर्मी, भिसा लागेका नागरिक तथा यस अघि छुटेका स्वास्थ्यकर्मी सबैलाई खोप दिने निर्णय गरेको छ । तर यी सबैमा नगरपालिकाले कोटा प्रणाली भने लागु गरेको छ । जस अनुसार उवासंघका व्यवसायीको हकमा आइतबार सुरुवाती चरण अन्र्तगत ३५० डोज उपलब्ध गराइएको थियो ।

३५० खोप प्रयाप्त नभएपनि ढिलै भएपनि नगरपालिकाले ब्यवसायीलाई पनि खोप उपलब्ध गराएकोमा रत्ननगर उवासंघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले नेपालीको आवाज डटकमलाई खुसी लागेको बताए । उनले ब्यवसायी भनेको देशको आर्थीक मेरुदण्ड रहेको बताउदै यदि ब्यवसायीले खोप नलगाउने हो भने ब्यवसाय गरेर खाने वातावरण नबन्ने र यसले राज्यलाईनै नोक्सान हुने भएकाले खोपको प्राथमिकतामा ब्यवसायी नपरेकोमा दुःख ब्यक्त गरे ।

१ प्यान १ खोपको माग सहित गत श्रावण ७ गते जिल्ला प्रशासन कार्यालय चितवन तथा रत्ननगर नगरपालिकामा ज्ञापन पत्र बुझाएको स्मरण गर्दै श्रेष्ठले ब्यवसायी बाँचेनै नगरपालिको करको दायरा पनि बढ्ने भएकाले सो कुरा नगरपालिकाले बिर्सन नहुने कुरा ब्यक्त गरे ।

उनले छिमेकी खैरहनी नगरपालिकाले सबै ब्यवसायीलाई खोप दिइ रहदा रत्ननगर नगरपालिकाले निर्णण गर्न ढिलो गरेकोमा दुःख लागेको भएपनि अब भने सबै ब्यवसायीले खोप पाउनेमा आफुहरु आसावादी रहेको बताए । श्रेष्ठले उवासंघ ब्यवसायीको हकहितको लागि लड्ने संस्था भएकाले प्रत्येक सदस्यले खोप लाउन नपाएसम्म आफुहरु लडि रहने बताए ।

त्यसो त नगरपालिकाले अहिलेको खोपमा कोटा प्रणाली तोकेको छ । जस अनुसार पर्यटन ब्यवसायीलाई १ हजार डोज, उद्योग बाणिज्य संघमा आवद्धलाई ३५० डोज भने आइतबार दिइ सकिएको छ । बांकी रहेका उद्योग संघका ब्यवसायीलाई २०० डोज, सहकारीमा आवद्धलाई १०० डोज, खानेपानीमा आबद्धलाई ५० डोज, बिमा, बित्तिय संस्था, नेट केबुलमा कार्यरतलाई १०० डोज, पशु स्वास्थ्यकर्मीलाई २० डोज, भिसा लागेका नागरिकलाई २० डोज तथा यस अघि छुटेकालाई ३० डोज कोरोना खोप भने आज (सोमबार) लगाईने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिए ।

फाईल तस्विर

उता खोप अभाव भएपछि रत्ननगरका मेयर नारायण वनले मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय संग समन्वय गरेर खोप माग गरेकामा सो आग्रहका आधारमानै प्रदेश सरकारले रत्ननगरका पर्यटन व्यवसायी, कर्मचारी, नेचरगाइडहरु तथा उद्योग बाणिन्य संघ र उद्योग संघमा आबद्ध व्यवसायी, सहकारीकर्मी, खानेपानी संस्थाका कर्मचारीहरुका लागि रत्ननगरमा खोप आएको नगरपालिकाका प्रेस सल्लाहाकार होमनाथ सापकोटाले जानकारी दिए । ।

उनले जिल्ला भरीका पर्यटन व्यवसायी, यस संग सम्बद्ध कर्मचारी, नेचरगाइड, सहकारीकर्मीहरुका लागि प्रदेश सरकारसंग २ हजार ५०० खोप माग गरेकामा मेयर वनको आग्रह र पहलका आधारमा खोप आएर लगाउन सुरु गरिएको बताए ।

तपाईको प्रतिक्रिया