महेश पाण्डे
चितवन । सौराहामा हात्ती पालन पहिले भन्दा अहिले सहज बनेपनि हात्ती पाल्ने व्यवसायीको संख्या भने घट्दो क्रममा रहेको देखिएको छ । युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लि.का अध्यक्ष ऋषि तिवारीका अनुसार कोराना महामारी सुरु हुनुभन्दा अघि सौराहामा करिब ७० वटा हात्ती रहेकोमा अहिले सो घटेर करिब ४८ को हाराहारीमा पुगेको छ ।

यसो हुनुमा हात्ती पालनमा आउने दैनिक खर्चनै मुख्य कारक रहेको तिवारीको भनाई रहेको छ । करिब १५ वटा हात्ती पालन गर्ने ब्यवसायी कोरानाका कारण बिस्थापितनै भएको र केहिले भाडामा ल्याएको हात्ती फिर्ता गरेको र केहिले बेचेका कारण हात्तीको संख्यामा कमि आएको तिवारीको भनाई छ ।

करिब एक करोड देखि डेढ करोड सम्म पर्ने हात्तीलाई पाल्न त्यति सहज नभएको बताउदै तिवारीले पहिलाका तुलनामा दुई महिनादेखि सौराहामा हात्ती पालन गर्न केहि सहज भएको भएपनि अहिले हात्ती ब्यवसायीको संख्या भने निकै घटेको बताए ।

उनले त्यसको मुख्य कारण हात्तीलाई चाहिने चरिचरणको समस्या प्रमुख रहेको बताए । त्यसो त अहिले निकुञ्ज प्रशासन, मध्यवर्ती सामुदायीक वन, मृगकुञ्ज उपभोक्ता समिति तथा बिभिन्न संघ संस्था तथा निकाएको पहलमा बल्ल सामुदायिक वनमा हात्ती चराउने सुविधा उपलब्ध भएकाले अहिले पहिलेको जस्तो गाह्रो अवस्था नभएको तिवारीको भनाई छ ।

तिवारीले अब भने हात्तीको बिमा र भेटनरी डाक्टर पनि ब्यवसायीलाई उपलब्ध हुने हो भने यो महामारीमा हात्ती जोगाउन सहज हुने बताए ।

यसै क्रममा कोरोना महामारीका कारण थलिएको देशकै तेस्रो पर्यटकिय गन्तव्यको रुपमा रहेको सौराहा र त्यसको बिशेषताको रुपमा रहेको हात्ती सफारी दुवै चल्न नसकी रहेको भएपनि अन्तराष्ट्रिय हात्ती दिवसको अवसरलाई मध्यनजर गर्दै बिहिबार कुमरोजमा हात्तीलाई खाना खुवाउने कार्यक्रमको आयोजना गरि १० औं अन्तराष्ट्रिय हात्ती दिवस मनाइएको छ ।

सो कार्यक्रमको आयोजना युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लि. ले गरेको थियो भने सह आयोजना कुमरोज मध्यवर्ती सामुदायीक वनले गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख शंरक्षण अधिकृत अणनाथ बरालले हात्ती पर्यापर्यटनसँग जोडिने बिषय भएकाले र चितवनको सौराहा र पश्चिम भागमा पनि ब्यवसायीक रुपमा निजि हात्तीहरु रहेकाले यसलाई जोगाउन निकुञ्ज प्रशासन गम्भिर रहेको बताए । चितवनमा निजि हात्तीहरु नहुने हो भने निकुञ्ज, पर्यटनसबैमा नकारात्म असर पर्ने बरालाको भनाई छ ।

बरालले चितवन आउने पर्यटको उद्देश्य भनेको हात्ती सफारी पनि रहेकाले यसको संरक्षणको लागि आफुहरु सधै सकारात्मक र गंभिर रहेको बताए । उनले हात्ती चितवनमाबाट पलाएन हुनु हुदैन र हात्तीले स्वस्थ र स्वच्छ खाना खानुपर्छ भन्ने मान्यता निकुञ्ज प्रशासनको पनि रहेको बताउदै कानुनी, प्राविधिक तथा सामाजिक सबैकुरालाई मध्यनजर गर्दै आफुहरु अगाडि बढ्ने बताए ।

बिश्वमा बन्यजन्तु सम्बन्धि कानुनले घरपालुवा हात्तीलाई निश्चित मापदण्ड पुरा गरेर ओसार पसार गर्न पाइने बताउदै बरालले हात्ती वन्यजन्तु रहेकाले त्यसलाई जोगाउन निकुञ्ज गम्भिर रहेको बताए ।

बरालले सामुदायिक वन जनता र सरकार बिचको सहमती अनुसार चल्ने भएकाले निकुञ्जसँग जोडिएका कुमरोज सामुदायिक वन, बाघमारा सामुदायिक वनमा दाउराको अवस्था बाहेक अरु कुरामा सहजिकरण गरि रहेको बताए ।

उनले कोरोनाका महामारीका कारण हात्ती सफारी नहुदा र पर्यटकको उपस्थिति नहुदा निकुञ्जको आम्दानि पनि घटेको बताउदै अबको ध्यान भनेको पर्यटन ब्यवसायलाई कसरि गुणस्तरिय बनाउन सकिन्छ भन्ने तर्फ रहनु पर्ने बताए ।

सो कार्यक्रममा सौराहामा रहेका पर्यटन ब्यवसायी तथा हात्तीसँग सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया