अजित अधिकारी
चितवन । आज बिहानदेखि परेको अविरल बर्षा र हावाका कारण किसानहरु धान काट्नबाट बन्चित भएका छन् । सिमसिम पानी तथा झरी पर्ने समस्या दिन बिराएर हुन थालेपछि बर्षभरी खाने धान खेती काट्न नपाएपछि किसानहरु चिन्तित भएका हुन । यतिबेला माडीका अधिकांश क्षेत्रहरुमा धान पाकिसकेको अवस्था छ । अहिले खासगरी ३/४ महिनामा छिटो पाक्ने राधाचार, हर्दिनाथ, बिजि लगाएतका धानहरु बालीमा लहलह झुलिरहेको अवस्था छ । केही धानबालीहरु भने पानीसंगै आएको हावाका कारण खेतमा नै ढलिरहेको स्थानीय किसान राम प्रसाद तिवारीले बताए । उनी भन्छन् मौसममा यस्तै समस्या तारन्तार देखियो भने किसानहरुलाई धान बाली जोगाउन गाह्रो हुनुका साथै उत्पादनमा समेत गिरावट आउन सक्ने बताए । गतबर्ष धानबालीमा गवार लाग्ने, धानको बाला डढ्ने समस्यासंगै फौजी किराको आक्रमण बढेको थियो । जुन किराको कारण धानको बाला काटिने र दानाको पोषण तत्व किराले सोस्ने समस्या देखिएको थियो । साथै देशका केही क्षेत्रहरुमा अन्नबाली नै सखाप पार्ने सलह किरा समेत देखा परेको थियो ।

तपाईको प्रतिक्रिया