चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा अब ठुलो राजनैतिक लडाई हुने बताएका छन् ।
आज (शुक्रबार) विहान नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिले गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाई र टक्कर हुन लागेको बताएका हुन् ।
उनले चितवन अब राजैनैतिक महाभारत र कुरुक्षेत्र बन्न लागेको बताए । चितवन अब महाभारत र कुरुक्षेत्र बन्दैछ भन्ने कुरालाई हिंसात्मक रुपमा भने नबुझ्न प्रचण्डले आग्रह गरे ।
उनले सो कार्यक्रममा सम्बोधन गर्दै दुई वटा प्रवृत्तिको लडाई चितवनमा हुन लागेकाले अहिले देशभित्रको मात्र नभई देशबाहिरको ध्यान पनि चितवन तिर केन्द्रीत भएको बताए । उनले चितवनमा सबैको ध्यान केन्द्रीत भएको भन्दै देश र विदेश सबैतिर चितवन अहिले केन्द्रमा रहेको बताए । चितवनको चुनावी लडाईमा ठूलो टक्कर हुने जिकिर गर्दै अध्यक्ष प्रचण्डले सो लडाईमा जनताले जित्छन या जनताको बैरीले जित्छन भन्ने कुराको छिनोफानो हुने बताए ।











