लेखक : लोकमणि पौडेल
वरिष्ठ साहित्यकार एबम उपन्यासकार र असली अयोध्याका अध्येता

अफिस बाट अल्लि चाँडै घर आएको थिएँ। केही किनमेल को काम थियो। श्रीमती र म बाइक मा बजार जाँदै थियौं । बेलुकी को पाँच बज्दै थियो। गाडी, बाइक सबै निष्फिक्री कुदिरहेका देखिन्थे । म भने खासै रफ्तार मा थिइन।

केही पर आफ्नै आँखा अगाडी एउटा बाइक ट्याक्सी सँग ठोक्किएर गुल्टियो। मैले बाइक साइड लगाएँ र गुल्टिएको बाइक तिर बढें । तर तेतिञ्जेल मा बाइक चलाउने युवक ले कुनै बटुवा को सहायता मा बाइक उठायो। बाइक चलाउने युवक एक्लै रहेछ । गल्ती ट्याक्सी चालक को थियो र पनि उही नै तेस युवक सँग कराउँदै थिए । बाइक को अगाडी को शो फ्रेम र साइड लाइट फुटेको थियो भने ट्याक्सी को पनि चालक तिर कै हेडलाइट फुट्नु सँगै लेगगार्ड ले लागेर होला बम्पर को कुनो थोरै कुच्चिएको थियो। युवक ले दाहिने हात को नाडी देब्रे हात ले अँठ्याएर बोल्दै थियो । ट्याक्सी ड्राइभर प्रतिवाद गर्दै र हप्काउँदै थियो । म बोल्न खोज्दै थिएँ श्रीमती ले रोकिन्- “यो लफडा मा हजुर चाहिं अघि सरेर नबोल्नुस्। देख्ने अरु पनि छन्, अरु नै बोल्छन्। नदुखेको टाउको किन दुखाउने ?” श्रीमती को कुरा मनासिबै लाग्यो ।

हामी त्यहाँबाट हिँड्यौं र किनमेल को काम सकेर घर फर्क्यौं । ७ बजे सम्म मा खाना खाने चलन बसालेका थियौं । छिटो गर्नका लागि भान्छा मा मैले पनि उनलाई सघाएँ । छोरो बेलुकी को क्लास सकेर ६ः३० मा घर आइपुग्थ्यो । तर आज ७ बज्दा पनि आएन। मैले फोन गरें तर फोन उठेन। बाइक चलाउँदै होला भन्ने लाग्यो । ८ः०० बज्दा बल्ल घर मा छिर्यो ।

“किन ढिलो गरिस् बाबु?” मैले सोधें।
“आज एउटा सानो एक्सिडेन्ट भयो। ट्याक्सी सँग मेरो बाइक ठोक्कियो। मान्छेहरु पनि कति मतलबी भएछन् भने अर्काका लागि कोही बोलिदिँदा रहेनछन् । आँफू निर्दोष हुँदाहुँदै पनि उल्टै दशहजार तिर्नु पर्यो। कस्तो अन्याय?”

“बरबाद भएछ नि ! कतै चोटपटक ?”
“तेस्तो खासै केही भएन। तर मलाई त पैसा तिर्नु परेको र चोटपटक को पीडा भन्दा पनि धेरै पीडा गल्ती नगर्दा नगर्दै पनि भोग्नु परेको अन्याय ले दिएको छ ।”
उसका कुरा ले म खङ्रङ्ङै भएँ । मनमनै सोचें- “यदि मैले घर नजीकै को घटना मा न्याय को साथ दिएर त्यो अनजान युवक का लागि बोलिदिएको भए, मेरो छोरा का लागि पनि बोल्ने कोही निस्कन्थे होलान्। म पनि कति मतलबी भएँछू !”

(यो पुरानो कथा भएकाले तपाईंहरु माझ पस्केको हुँ ।)

मन परेमा शेयर गरिदिनुहोला, धन्यवाद !

लेखक : लोकमणि पौडेल
वरिष्ठ साहित्यकार एबम उपन्यासकार र असली अयोध्याका अध्येता

तपाईको प्रतिक्रिया