चितवन, मंसिर ३ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनकको आयोजना गर्दै आयोजकले सो कुराको जानकारी दिएको हो ।

२०५३ साल देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करणको रुपमा उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुन लागेको यसपालिको महोत्सवमा कृर्षि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई विशेष प्राथमिकता दिईएको संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

उनले हरेक दुई–दुई वर्षमा महोत्सव हुँदै आएको भएपनि अघिल्लो वर्ष कोरोना महामारीका कारण रोकिएकाले यसपालि भने सञ्चालन गर्न लागिएको बताए । श्रेष्ठले अहिलेको महोत्सवमा ४ वटा विशेष स्टल र डोमसहित ३५० स्टल रहने जानकारी दिए । यस पटकको महोत्सबमा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, हस्तकलाका सामग्रीले पनि विशेष स्थान पाउने श्रेष्ठको भनाई छ ।

श्रेष्ठले अघिल्ला महोत्सवमा पाँच सयभन्दा बढी कक्ष हुने गरेको भएपनि कोभिडका कारण सुरक्षा सतर्कता अपनाएर महोत्सव गर्नुपर्ने भएकाले यस पटक भने कक्ष संख्या घटाइएको जानकारी दिए ।

उनले महोत्सव २४सै घण्टा सिसि क्यामेराको निगरानीमा रहने जानकारी दिए । महोत्सवमा डोमसहितका आकर्षक कक्षसमेत रहनुका साथै महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका देशका उत्पादनको कक्ष समेत रहने श्रेष्ठको भनाई छ ।

उनले महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुने जानकारी दिए । उनले सो गोष्ठीले चितवनलाई आर्थिक केन्द्र बनाउन सहयोग पु¥याउने बिश्वास लिएको बताए । उनले महोत्सव परिसरमा विभिन्न संस्कृति झल्कने नमुना घरसँगै कृषि, पर्यटन, कलासंस्कृति झल्कने कक्ष रहने पनि जानकारी दिए ।
यस पटकको चितवन महोत्सवमा करिब ५ लाख दर्शक आउने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ । साधारणका लागि टिकट शुल्क रु ५० र विद्यार्थीलाई परिचय पत्रका आधारमा रु २५ तोकिएको छ भने जेष्ठ नागरिक, असहाय र एकल महिलालाई भने महोत्सव प्रवेश निशुल्क गरिएको छ ।

तपाईको प्रतिक्रिया