चितवन । चितवनमा ठूला दुई महोत्सव सँगसँगै हुने भएका छन् । पुस २५ मा चितवन महोत्सव र पुस २७ मा रत्ननगर महोत्सव हुने आज (बिहिबार) नारायणगढमा संयुक्त पत्रकार सम्मेलन गरि उद्योग वाणिज्य संघ चितवन र रत्ननगर उद्योग वाणिज्य संघले जानकारी दिएका हुन् ।

विगतका वर्षहरुमा प्रत्येक वर्ष जोर वर्ष रत्ननगर र बिजोर वर्ष उद्योग वाणिज्य संघ चितवनले पालो मिलाएर महोत्सव गर्ने गरेको भएपनि यस वर्ष भने दुइर्वटै ठूला महोत्सव सँगसँगै हुन लागेका हुन् । कोभिडका महामारीका कारण गत वर्ष महोत्सव हुन नसकेपछि चितवन महोत्सव र रत्ननगर महोत्सव यसवर्ष भने २ दिनको फरकमा सञ्चालनमा आउन लागेका हुन् ।

वि.सं २०५९ बाट हरेक विजोर वर्षमा चितवन महोत्सव र जोर वर्षमा रत्ननगर महोत्सव हुँदै आएको छ । सोही निर्णयअनुसार अन्तिमपटक बिजोर वर्ष २०७५ मा चितवन महोत्सव भयो भने २०७६ मा रत्ननगर महोत्सव भएको थियो । यस वर्ष आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव र पुस २७ देखि माघ ८ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ । चितवन महोत्सव नारायणी नदी किनारमा र रत्ननगर महोत्सब टिकौली चौरमा हुँदैछ ।

दुवै महोत्सब एकै वर्ष परेपनि दुई संस्थाबीच छलफल गरेर महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । उनले गत वर्ष कोभिडका कारण चितवन महोत्सव हुन नसकेकामा यस वर्ष गर्नुपरेको बताउदै सबैको सल्लाहमा नै मिति तय गरिएको जानकारी दिए । श्रेष्ठले एक अर्को संस्थाले आपसमा आवश्यक सहयोग गर्ने गरीनै काम अघि बढेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले दुई संस्थाले कोरोना महामारीका कारण चितवन महोत्सब सरेको अवस्थामा र फरक फरक वर्षमा महोत्सव गर्ने सम्भावना नरहेपछि सँगसँगै सहकार्य गरेर महोत्सव गर्न लागिएको बताए ।

उता चितवन महोत्सवमा ४०४ कक्ष हुने र विगत वर्षहरुमा झै महोत्सवमा ५९० कक्षसम्म राखिएको भए पनि कोभिडका कारण सङ्ख्या घटाइएको वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए ।

विगतको तथ्याङ्कलाई हेर्ने हो भने चितवन महोत्सवमा रु पाँच अर्ब हाराहारी व्यापार हुने गरेको थियो भने यस वर्ष पनि सोही अनुपातमा ब्यापार हुने र पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै पाँच सय ५० कक्ष रहने रत्ननगर महोत्सवमा यस वर्ष ३५० मात्रै राखिने संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिए ।

चितवन महोत्सवको यो १३ औँ संस्करण हो भने रत्ननगर महोत्सवको ११ औँ संस्करण हो । दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सव एक वर्ष पछाडि सरेपछि नियमितरुपमा हुँदै आएको रत्ननगर महोत्सवसँगै परेको हो । उद्योग वाणिज्य संघ–चितवन र रत्ननगर उद्योग वाणिज्य संघले जिल्लाको उद्योग, व्यापार, व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आलोपालो गर्दै महोत्सव आयोजना गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया