चितवन । चितवनको भरतपुरमा ट्रककाे ठक्करबाट एक बालिकाकाे मृत्यु भएपछि स्थिती तनावग्रस्त बनेकाे छ। भरतपुर– ९ वसन्तचोकमा बा ०३–००१ ख १३०६ नम्बरको ट्रकले बालिकालाई ठक्कर दिएपछि स्थानीयले ठक्कर दिने गाडीमा आगजनी गर्दै राजमार्ग अवरुद्ध गरेका थिए । साेही क्रममा प्रहरीले स्थानीयलाई राेक्न खाेज्दा स्थिति तनावग्रस्त बनेकाे हाे ।
साेहि क्रममा आक्रोशित स्थानीयले ढुंगा मुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियाे । नारायणघाटबाट पूर्वतिर जाँदै गरेको सो ट्रकले शुक्रबार करिब पौने १२ बजे सडक पार गर्न लागेकी अन्दाजी साढे दुई वर्षीया दीपिका जोशीलाई ठक्कर दिदा उनकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ। बालिकाको घटनास्थलमै मृत्यु भएपछि बालिकासँगै रहेकी आमा भने बेहोस अवस्थामा रहेकी स्थानीयले बताएका छन्। चालकले ट्रक ब्याक गरेर बालिकालाई मारेको भन्दै स्थानीयले ट्रकमा आगजनी गरेका हुन् ।











