महेश पाण्डे
चितवन । यहि पौष २७ गते देखि माघ ८ गते सम्म रत्ननगरमा रहेको टिकौली चौरमा रत्ननगर महोत्सब २०७८ हुने भएको छ । आयोजक रत्ननगर उद्योग वाणीज्य संघले ११औं संस्करणको महोत्सबको जानकारी दिन आज (बिहिबार) सौराहामा गरेको पत्रकार सम्मेलनमा यस पटकको महोत्सबमा बिशेष आकर्षण जिपलाईन र जिप साइक्लिङ् हुने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सव २०७८ मा हरेक पटक हुने गतिविधिका अलावा जिपलाईन र जिप साइक्लिङ् तथा राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता अझ बिशेष हुने जानकारी दिए ।

उनले राष्ट्रिय भलिबल प्रतियोगितामा भाग लिन ७ वटै प्रदेशका खेलाडी साथै बिभागिय टिम एपिएफ, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरि १० टिमको सहभागिता रहने जानकारी दिए । श्रेष्ठले हरेक पटकको महोत्सबमा केही न केही फरक गर्दै आएको बताउदै यस पटक पनि उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ३५० स्टलहरु रहने जानकारी दिए ।

उनले यस पटकको महोत्सवमा तिन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब १५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको जानकारी दिदै महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न मूल समिति, स्टेरिङ कमिटी, सल्लाहकार समिति लगायत विभिन्न कार्यका लागि ३९ वटा कार्यगत समितिहरु गठन गरि तदारुकताका साथ काम अगाडि बढाई सकिएको बताए ।

श्रेष्ठले महोत्सबमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिने जानकारी दिए । उनले महोत्सबमा स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजनहरुको प्रदर्शनको व्यवस्था गरिने पनि जानकारी दिए । उनले यस महोत्सबबाट ग्रेटर रत्ननगर, बेटर रत्ननगर को अवधारणा पनि अघि सारिएको बताए ।

महोत्सबको संरक्षक समेत रहेको रत्ननगर नगरपालिकाकि उप प्रमुख बिमला देवि दुवाडीले स्थानिय उत्पादनको प्रमोशनको लागि हुने जुन सुकै कार्यक्रमको लागि सहकार्य गर्न आफुहरु तयार रहेको जिकिर गरिन । उनले नेपालमा पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र महोत्सब सञ्चालन गर्न अनुरोध पनि गरिन ।

यस पालिको महोत्सबमा कलाकारहरुः प्रमोद खरेल, कमल खत्री, रचना अधिकारी, पुर्णकला बिसी, राजु परियार, प्रिती आले, शिव बि.क., अर्जुन पोख्रेल, प्रकाश सपुत, शैलन्द्र शिंखडा लगाएतका कलाकारको बेजोड प्रस्तुती रहने कलाकार संयोजक प्रकाशमणी सापकोटाले जानकारी दिए ।

रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिदै महोत्सब सफल बनाउन लाग्न सबैलाई आग्रह गरेका गरे ।

रत्ननगर महोत्सबमा संघको तर्फबाट जारी गरिएको बिज्ञप्ति यस्तो रहेको छ ।

तपाईको प्रतिक्रिया