चितवन । पूर्वी चितवनको बकुलहरमा मुख्य शाखा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि. को पर्सा सेवा केन्द्रको आज (आइतबार) एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । सो सेवा केन्द्रको शुभारम्भ खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीले गरेका हुन् ।

चौधरीले रत्ननगरमा लामो समयदेखी सेवा सञ्चालन गर्दै आएको अर्पण साकोसले खैरहनीमा पनि सेवा केन्द्र बिस्तार गरेकोमा खुसी लागेको बताए । उनले हालका दिनमा सहकारीले नियम कानुन बमोजिम र कार्यविधिमा रहेर काम गर्नु पर्ने कुरामा जोड दिए ।

उनले एक आकसमा मिलेर थोरै थोरै रकम जम्मा गरेर सदस्यको हितका लागि काम गर्नुनै सहकारीको सिद्धान्त भएकाले सबै सहकारीले सो बमोजिम कार्य गर्नु पर्ने बताए ।

उनले हालका दिनमा सहकारीमा बचत संकलन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलिरहेको उदाहरण दिदै सदस्य केन्द्रित काममा सबै सहकारी लागे मात्रै संस्था बलियो हुने धारणा ब्यक्त गरे । चौधरीले सहकारी आज सुरु गर्ने र त्यसको प्रतिफलको लागि भने लामो समय कुर्नुपर्ने भएकाले धैर्य गरेर सदस्यहरु अगाडी बढ्नु पर्ने कुरामा जोड दिए ।

संस्थाका अध्यक्ष मेघनाथ पौडेलले २०६७ सालमा स्थापना भएको अर्पण साकोसले रत्ननगर पछि खैरहनीमा सेवा केन्द्र बिस्तार गरेको बताउदै यस लगत्तै कालिका नगरपालिका क्षेत्रमा पनि सेवा केन्द्र बिस्तार गर्ने संस्थाको सोच रहेको बताए ।

उनले खैरहनीमा ब्यवसाय र ब्यवसायीको संख्या निकै बढेकाले पनि सबैसँग सहकार्य गर्न आफुहरु खैरहनीमा आएको जिकिर गरे । उनले अर्पण साकोस निति, बिधि र प्रविधिको साधमा सञ्चालन हुने कुरामा ढुक्क हुन सबैलाई आग्रह गरे ।

संस्थाका उपाध्यक्ष तथा सेवा केन्द्र बिस्तार उप–समितिका संयोजक मोहदत्त पौडेल (शुरज) ले पहिले देखिनै अर्पण साकोसको सेवा केन्द्र लिएर खैरहनीमा आउने सोच भएपनि पहिला संस्थालाई बलियो बनाएर र खैरहनी क्षेत्रमा रहेका शेयर सदस्यको चाहाना बमोजिम पर्सा सेवा केन्द्रको सुरुवात गरेको बताए ।

उनले सो सेवा केन्द्रबाट चुस्त र दुरुस्त सेवा सञ्चालन हुने कुरामा कुनै दुइमत नभएको धारणा ब्यक्त गरे ।

सो कार्यक्रममा खैरहनी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष टेक बहादुर क्षेत्री, खैरहनी उद्योग वाणीज्य संघका अध्यक्ष दिपेन श्रेष्ठ, अर्पण साकोसका निवर्तमान अध्यक्ष एमन भुषाल, शुभकामना साकोसका अध्यक्ष अर्जुन लम्साल, समाजसेवी राम प्रसाद कंडेल लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया