चितवन ः रोटरी क्लबको पोलियो अभियानको लागि एउटै कार्यक्रमबाट करिब ३२ लाख रुपैया उठेको छ । आइतबार भरतपुरको दियालो फुड ल्याण्डमा सम्पन्न भएको पोलियो कार्यक्रमको लागि फण्ड राइजिङ कार्यक्रममा उपस्थित रोटरीयनहरुले २६ हजार ४ सय २६ अमेरीकी डलर सहयोग घोषणा गरेपछि एउटै कार्यक्रममा करिब ३२ लाख रुपैयाँ उठेको हो ।

कार्यक्रमका संयोजक तथा रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलले डिस्ट्रिक गर्भनरको लक्ष्य ५० हजार डलर पोलियो अभियानको लागि उठाउने भएपनि एउटै कार्यक्रममा करिब २६ हजार डलर उठेपछि निकै खुसी लागेको बताए । संभवत यतिधेरै रकम एउटै कार्यक्रममा उठेको यो पहिलो पटक भएको बताउदै संयोजक पोख्रेलले कुनैपनि बालबालिका पोलियोका कारण असक्त र अस्वस्थ बन्न नपरोस भनेर सो रकम रोटरीले खर्च गर्ने बताए ।

रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ का १४ वटा क्लबहरुद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक गर्भनर सन्तोष रिजालले रोटरीयनहरुको सहयोग गर्ने चाहाना देखेर आफु निकै खुसी भएको बताए ।

उनले विश्वबाट पोलियो उन्मुलनको लागि रोटरी क्लबहरुले अन्तर्राष्ट्रिय स्तरमा अभियान सञ्चालन गर्ने बताउदै एउटै कार्यक्रममा ५० हजारको लक्ष्य लिएकोमा ५० प्रतिशत भन्दा बढी रकम उठ्नु निकै उत्साहाको कुरा भएको जिकिर गरे ।
रिजालले सन् १९८२ बाट रोटरियनहरुले पोलियो उन्मुलनका लागि काम गरिरहेको बताउदै पोलियोलाई जरैदेखि निर्मुलन पार्न सो रकम ठुलो कोसे ढुंगा साबित हुने बताए ।

रोटरी क्लब अफ क्रमशः चितवन, रत्ननगर, नारायणगढ, भरतपुर, नारायणी मिड टाउन, गैडाकोट, कावासोती, पूर्वी चितवन, धादिङ्ग, मकवानपुर, वर्दीवास, बिरगञ्ज मेट्रो पोलिटन, हेटौडाको आयोजनामा भएको सो कार्यक्रममा पास्ट डिस्ट्रिक गर्भनर क्रमशः रबिन्द्र कुमार पिया, सञ्जय गिरी, किरण लाल श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।











