नेपालमा पनि कोरोनाको अर्को भेरियन्ट ओमिक्रोन फैलिदै गएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरेको छ ।

साथै आज बसेको सीसीएमसीको बैठकले कोभिड संक्रमण बढेकोले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णयसँगै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै सो बैठकले माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने निर्णय पनि गरेको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि सो बैठकले गरेको छ ।

बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको छ । सीसीएमसीको बैठकको सिफारिस मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै लागु हुने छन् ।

नेपालमा पछिल्लो हप्तामात्र करिब पाँच हजार कोरोना संक्रमित थपिएका छन् । आइतबार मात्रैएकैदिन ११ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो । यसमा ओमिक्रोन भेरियन्टको संख्या पनि बढ्द्र गएको छ ।

तपाईको प्रतिक्रिया