अजित अधिकारी
चितवन । नेकपा एमाले माडी नगर कमिटीद्वारा माडीमा ईलाका प्रशासन कार्यालयको सेवा अबरुद्ध भएको विषयमा प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण गरिएको छ ।

खासगरी प्रशासनिक कामका लागि आउने सेवाग्राहीहरु कार्यालय प्रमुखको अभावमा नागरिकता बनाउने कार्यदेखि मतदाता नामावली संकलन कार्यमा समेत ढिलासुस्ती भएको विषयमा गम्भीर आपत्ति जनाउदै नेकपा एमाले माडी नगर कमिटीले आज आइतबार यस बारेमा छलफल अगाडि बढाएको हो ।

छलफलमा तत्काल नागरिकको काममा सहज बाताबरण सिर्जना गर्न र तत्काल कार्यालय प्रमुख पठाउन पत्रमार्फत जिल्ला अधिकारीलाई अनुरोध गरिएको छ ।

उक्त पत्रमा नगर कमिटी अध्यक्ष नारायण प्रसाद अधिकारी र सचिब श्रीप्रसाद दवाडीद्वारा संयुक्त रुपमा हस्ताक्षर गरी कार्यालय प्रमुख नहुँदा प्रशासनिक कामको लागि आउने सेवाग्राहीहरुले भोग्नुपरेको समस्याका बारेमा जानकारी गराउदै नागरिकले पाउनुपर्ने सेवा अधिकार र सुरक्षाका विषयकमा माग गरिएको हो ।

यसैगरी उक्त ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले कार्यालय प्रमुखको अभावमा सेवाग्राहीले खेप्नुपरेको पिडा र तत्काल अर्को ब्यबस्था नरहँदासम्म हरेक हप्ताको शुक्रबार जिल्लाबाटै गएर सेवा सञ्चालन गरिने र दीर्घकालीन समस्या समाधानका लागि छलफलबाट नै समाधानको पाटोमा अगाडि बढ्ने बताए ।

यो संगै अब माडीमा नागरिकताको लागि फाइल संकलन गर्ने र हरेक शुक्रबार नागरिकता बितरण गरिने सहमति भएको नेकपा एमाले माडी नगर कमिटीका सचिब श्री प्रसाद दवाडीले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

उनका अनुसार, अहिले हाल कोभिडका कारण जनशक्ति अभाव भएको हुँदा माघ १५ गतेपछि काम सुरु हुने विषयमा प्रमुख जिल्ला अधिकारीले आँफुहरुलाई जानकारी दिएको बताए ।

नेकपा एमाले माडी नगर कमिटीका अध्यक्ष नारायण प्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले यस्तो प्रस्ताव अगाडि सारेको हो । टोलीमा माडी नगरपालिकाकी उपमेयर ताराकुमारी काजी महतो नेकपा एमाले भरतपुर महानगरका निबर्तमान अध्यक्ष राम प्रसाद न्यौपाने क्षेत्रीय अध्यक्ष श्यामकुमार बिष्ट नगर सचिब श्री प्रसाद दवाडी लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया