चितवन । चितवनमा भूमि आयोगले मध्यवर्ती क्षेत्रमा पर्ने माडीको बाँदरझुला लगायत विभिन्न क्षेत्रमा निकुञ्जको सहमति बिना जग्गाको नाँपजाँच गरेर जग्गाको निस्सा बाड्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले चितवनको मध्यवर्ती क्षेत्रको जग्गा नापजाँच नगर्न निर्देशन दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले सो बारेमा जानकारी गराउँदै १० दिन अघिनै सबै मध्यवर्ती क्षेत्रका स्थानीय तहलाई पत्र पठाइएको जानकारी दिए । उनले मध्यवर्ती क्षेत्रको जग्गा मनपर्दीरुपमा नापजाँच गर्न नमिल्ने भएकोले स्थानीय सरकारलाई पत्र पठाएर स्मरण गराएको बताए । उनले माथि मन्त्रालय तहबाट केही निर्देशन आए मात्र केहि हुने तर अहिलेको कानुन अनुसार जग्गा नाँपजाँच गरेर निस्सा वितरण गर्न भने नमिल्ने जिकिर गरे ।

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर रहेको छ भने चितवनसहित विभिन्न जिल्लाभित्र ७२९.३७ वर्ग किलोमिटर क्षेत्र मध्यवर्ती क्षेत्रमा पर्छ । साथै इच्छाकामना गाउँपालिकाबाहेक चितवनका ६ वटा स्थानीय तह मध्यवर्ती क्षेत्रभित्र नै पर्दछ ।

भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले आफूले माडी बाँदरझुलाका नागरिकलाई लालपुर्जा दिएर नै छाड्ने दाबी गरे । उनले १० वर्ष खनजोत गरेर बसेको जग्गाको लालपूर्जा बाड्नु आफ्नो अधिकार भएको बताउदै सोही अनुसारनै आफुले निस्सा दिएको जिकिर गरे । उनले बाँदरझुला क्षेत्रका बासिन्दालाई स्थानान्तरण नगरी नै आफुले लालपुर्जा दिएरनै छाड्ने बताए ।

उनले मध्यवर्ती क्षेत्रका पर्ने बाँदरझुलामा केहि दिन अघि अमिननै लगेर जग्गाको नापजाँच गरेर निस्सा दिएका थिए । तर सो क्षेत्रका बासिन्दालाई यस अघि पनि पटकपटक निस्सा बाँडिएको थियो । खासमा निस्सा लालपुर्जा नभएर बसेको प्रमाणपत्र मात्र हो । बाँदलझुलमा विभिन्न भूभागबाट आएका सुकुमबासीहरु विसं २०४८ सालदेखि देशका बसोबास गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया