
महेश पाण्डे
चितवन । गत पौष २७ गते देखि रत्ननगरको टिकौली चौरमा हुने भनिए पनि कोरोना महामारीको संक्रमण बढेसँगै स्थगित भएको रत्ननगर महोत्सव २०७८ पुनः सुरु हुने भएको छ । भोलि (आइतबार) अर्थात फागुन १५ देखि २३ गते सम्म हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक रत्ननगर उद्योग वाणीज्य संघले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
११औं संस्करणको महोत्सवको जानकारी दिन आज (शनिवार) महोत्सब स्थल टिकौली चौरमामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले मानव स्वास्थ्य भन्दा ठुलो अरु केही नहुने भएकाले चितवन प्रशासनको आग्रहलाई मानेर स्थगित गरिएको महोत्सब चितवनमा कोरोना संक्रमणको दर कम भएसँगै सुरु गर्न लागिएको जानकारी दिए ।
निकै भावुक रुपमा प्रस्तुत भएका श्रेष्ठले लाखौ लगानी गरेर पनि महोत्सब सुरु हुने अघिल्लो दिन स्थगित गरिएको महोत्सब फेरि डेढ महिना पछि भएपनि सुरु गर्न पाउनु निकै खुसीको कुरा भएको बताए ।
उनले रत्ननगर महोत्सब समग्र चितवनको नै ब्राण्ड भएकाले ढिलै भएपनि सुरु गर्न पाएकोमा सबै पक्षलाई उर्जा मिलेको धारणा ब्यक्त गरे । श्रेष्ठले रत्ननगर महोत्सब के हो भनेर फागुन २३ गते सबैलाई देखाउने बताएपनि त्यो के हो भनेर खुलाउन भने चाहेनन् ।
संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले महोत्सब पुनः सुरु हुनु सकारात्मक रहेको बताउदै अन्यत्र कहि पनि महोत्सब सञ्चालन नभएकाले ढिलै भएपनि सुरु भएको सो महोत्सब निकै सफल हुनेमा आफुहरु ढुक्क रहेको बताए ।
उनले महोत्सबमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४ सय भन्दा बढीे स्टल रहेको बताउदै जिपलाईन र जिप साइक्लिङ् महोत्सबको बिशेष आकर्षणको रुपमा रहेको जानकारी दिए ।
उनले यस पटकको महोत्सवमा तिन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब १५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको बताए ।
यस पटकको महोत्सबमा कलाकारहरुः शिव परियार, कमल खत्री, रचना रिमाल, बद्री पंगेनी, मेलिना मैनाली, राजु परियार, सुबोध गौतम लगाएतका कलाकारको बेजोड प्रस्तुती रहने कलाकार संयोजक प्रकाशमणी सापकोटाले जानकारी दिए ।