महेश पाण्डे
चितवन । रत्ननगर नगरपालिका, टिकौली सामुदायीक वन तथा बागमती प्रदेश सरकारको संयुक्त लगानीमा बनेको होम स्टेको नया स्वरुप रत्ननगर साँस्कृतिक ग्रामको आज (सोमबार) उद्धघाटन गरिएको छ । सो साँस्कृतिक ग्रामको रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन तथा उप–प्रमुख बिमला देवी दुवाडीले संयुक्त रुपमा एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् ।

उद्धघाटन पछि बोल्दै नगर प्रमुख वनले रत्ननगरको पहिचानलाई माथी लैजान र सबैलाई चिनाउन रत्ननगर साँस्कृतिक ग्रामले सहयोग गर्ने बताए । उनले रत्ननगर महोत्सबमा बिभिन्न जातजातीको साँस्कृतिक घर निर्माण गर्ने र सकिएपछि भत्काउने गरिएकोमा अब भने भत्काउन नपर्ने गरि ब्यवसायीक किसिमले सांस्कृतिक भवनको निर्माण गरिएको जिकिर गरे ।

उनले अहिले सो ग्राममा ७ वटा जातीको पहिचान सहितको भवन निर्माण गरिएको भएपनि यतिले मात्रै नपुग्ने भएकाले निकट भविष्यमा अन्य जातीका भवनहरु पनि थपिदै जाने जानकारी दिए । वनले सो ग्रामबाट हुन आउने आम्दानीको ४० प्रतिशत हिस्सा ग्रामको स्तर उन्नत्तीमा, ४० प्रतिशत सामुदायीक वनलाई र बाँकी २० प्रतिशत स्थानिय समुदायको आय आर्जनको लागि खर्च गरिने बताए ।

उनले सौराहामा धेरै भिडभाडको माहोल भएकाले एकान्त र प्राकृतिक मनोरम दृश्य अवलोकन सहितको बसाइको लागि रत्ननगर साँस्कृतिक ग्राम निकै उपयोगि हुने बताए ।

सो कार्यक्रममा बोल्दै उप–प्रमुख बिमला देवि दुवाडीले साँस्कृतिक ग्राम बनेसँगै रत्ननगरमा रहेका बिभिन्न जातीका पहिचानलाई सो ग्राममा बस्न आउने पर्यटकले नजिकबाट नियाल्न पाउने हुँदा संस्कृतिको बारेमा जानकारी दिने अवसर पनि हुने बताइन् ।

उनले सो ग्राममा आएर नजिकबाट प्रकितको समिपमा रमाउने अवसर नगुमाउन सबैलाई आग्रह पनि गरिन् ।

रत्ननगर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिषिर पौडेलले सो ग्राम निर्माणको लागि रत्ननगर नगरपालिकाले १ करोड ६१ लाख, टिकौली सामुदायीक वनले १४ लाख ५० हजार लगानी गरेको र बाँकी रकम भने प्रदेश सरकारले उपलब्ध गराएको जानकारी दिए ।

उनले सो साँस्कृतिक ग्राममा चेपाङ्ग, थारु, दराई, कुमाल, गुरुङ्ग। मुसहर र तमाङ्ग गरि ७ वटा सांस्कृतिक घर रहेको बताए । उनले उक्त ७ वटा घरमा १२ वटा कोठा रहेको र ३७ जना एकै पटकमा बास बस्न सक्ने जानकारी दिए । पौडेलले सो ग्राममा एकै पटकमा ७० जनाले खान मिल्ने र कार्यक्रम गर्न मिल्ने गरि किचन र हलको समेत निर्माण गरिएको जानकारी दिए ।

सोही कार्यक्रममा रत्ननगर नगरपालिकाले टिकौली सामुदायीक बनलाई २० बँुदे ब्यवस्थापन सम्झौता पत्र हस्तान्तरण समेत गरेको थियो । सो सम्झौता पत्र बुझ्दै टिकौली सामुदायीक वनका अध्यक्ष ईश्वरी प्रसाद लामिछानेले रत्ननगर नगरपालिकाले आफुहरुको चाहना बमोजिम सो ग्राम निर्माण गरेकोमा धन्यवाद ब्यक्त गरे । उनले ग्रामबाट प्राप्त आम्दानीबाट प्रत्यक वर्ष १ वटाका दरले सास्कृतिक घर थप्दै जाने लक्ष्य रहेको समेत जिकिर गरे ।

तपाईको प्रतिक्रिया