
भरतपुर । वैशाख ३० गते हुने स्थानीय चुनावलाई लक्षित गरी सत्ता गठबन्धनले भरतपुरमा बिहीबार गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुर आइपुगेका छन् ।
बुधबार दिउँसो गठबन्धनको विराटनगरमा भएको चुनावी सभालाई सम्बोधनपश्चात् हवाई मार्ग हुँदै उनी चितवन आइपुगेका हुन् ।
बिहीबार भरतपुरको साझा बसपार्कमा हुने चुनावी सभालाई देउवासहित गठबन्धनका शीर्ष नेतालेहरुले सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुरमा कांग्रेसका असन्तुष्ट समूहबाट मेयरमा बागी उमेदवारी दिएका जगन्नाथ पौडेलसँग देउवाले छलफल गर्ने सम्भावना रहेको बताइएको छ ।
पौडेलको उम्मेदवारी फिर्ताको लागि पार्टी सभापति देउवाले गृहमन्त्री खाँड र राज्यमन्त्री उमेश श्रेष्ठलाई अघिल्लो साता चितवन पठाएका थिए । यद्यपि पौडेलले आफ्नो अडान कायम राख्दै उमेदवारी फिर्ता लिएका थिएनन् । पार्टीको नीतिविपरीत गएको भन्दै पौडेललगायतका नेतालाई केन्द्रले वक्तव्य जारी गर्दै बुधबार साँझसम्म गठबन्धनका उमेदवारलाई समर्थन गरेमा कारबाहीमा पुनर्विचार गर्न सकिने जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री देउवा आचारसंहिताविपरीत चुनावी प्रचारमा आउन लागेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरीसमेत परेको छ ।