रत्ननगर, बैशाख २४ ।
रत्ननगर नगरपालिकाको मेयर पदका उम्मेदवार विमला दुवाडीले ठुला ठुला गफ गरेर नभई जनताको बिचमा काम गरेर जनताको मन जित्नुपर्ने बताएकी छिन् । रत्ननगर ७ मा भएको घरदैलो कार्यक्रममा बोल्दै दुवाडीले जनतालाई ठुला ठूला आश्वासन र गफ गरेर नभई जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताउनु भएको हो ।

‘गर्न सक्ने काम मात्र वोल्छु,नसक्ने काम गर्छु भनेर झुटो आश्वासन दिने काम गर्दिन, मेयर भएपछी जनताको मन जित्ने गरी काम गर्छु, दुवाडीले भनिन् । एमालेले नगरबासीको आधारभूत आवश्यकताहरुको सम्बोधन गर्दै खानेपानी, शिक्षा लगायतका क्षेत्रमा उल्लेख काम गरेको र अझै यसलाई अगाडि बढाउन घोषणापत्रमा नै उल्लेख गरेर अगाडि बढेकाले सबै जनताले एमाले नै रोजिरहेको उहाँको भनाई छ । अरु समय जनताको बिचमा नहुने र चुनाव आएपछी घोषणापत्रमा ठुलाठुला गफ दिएर आउनेलाई अबका जनताले नपत्याउने समेत दुवाडीले दावी गर्नुभयो ।

यस्तै,उपमेयर पदका उमेदवार यादब पाठकले बिजयी भएपछि भौतिक बिकास संगसंगै स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा पनि कार्यक्रम संचालन गरीने बताउनुभयो । वैदेशिक रोजगारीलाई न्यूनीकरण, महिला सशक्तीकरण पनि आफुहरुको मुल एजेन्डा भएको पाठकको भनाई थियो ।

एमालेका रत्ननगर ७ नम्बर वडाध्यक्षका उमेदवार सजना महतोले गएको निर्वाचनमा एमाले पराजित भएपनी एमालेले वडामा सामाजिक काम नछोडेको बताए । वडाको समस्या नजिकबाट बुझेको कारण पनि आफुले यो पटक जित्ने उहाँको भनाई थियो ।

घरदैलो कार्यक्रममा मेयर,उपमेयर,वडाध्यक्षको उम्मेदवार सहित ,वडा सदस्यका उम्मेदवार,एमालेका केन्द्रीय, प्रदेश, जिल्लाका नेताहरु, राष्ट्रिय युवा संघ, अनेरास्ववियु लगायत विभिन्न भातृ संगठनमा आवद्ध नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया