रत्ननगर । स्थानीय निकायको आसन्न निर्वाचन नजिकिँदै गर्दा रत्ननगरमा सत्ता गठबन्धनले आक्रामकरूपमा घरदैलो तथा कोणसभाहरु आयोजना गरेको छ । शनिबार रत्ननगरको वडा नं ११ र १२ मा सत्ता गठबन्धनका उमेदवारहरुले चुनावी कार्यक्रमअन्तर्गत घरदैलो तथा कोणसभाहरु सम्पन्न गरेको हो ।

नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उमेदवार प्रह्लाद सापकोटा र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरेलगायत सयौँ नेता, कार्यकर्ताहरुले नगरवासीको घरदैलोमै पुगेर मत माग्नुका साथै नगरवासीको अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
वडा नं ११ आयोजित कोणसभामा मेयर पदका उमेदवार प्रह्लाद सापकोटाले २५ वर्ष कांग्रेसले नेतृत्व गर्न नपाउँदा रत्ननगरले विकासको फड्को मार्न नसकेको भन्दै गठबन्धनको जितसँगै रत्ननगरलाई रत्नजसरी चम्काउने बताए ।

उमेदवार सापकोटाले भने, ‘हामीसँग नगरविकासको योजनासहित समृद्ध नगरलाई सार्थक बनाउन विषयविज्ञहरु हुनुहुन्छ । उहाँहरुको सल्लाह, सुझाव र परामर्श लिएर नगरवासीको सपना पूरा गर्छु ।’
यस्तै, उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरेले सत्ता गठबन्धनको जितले मात्र रत्ननगरको मुहार फेर्न सक्ने बताए । ‘हामी आश्वासन दिनमात्र होइन, काम गर्न आएका छौँ’, उनले भने, ‘त्यो समयले प्रमाणित गर्ने कुरा हो । हामी यसमा प्रतिबद्ध छौँ ।’

रत्ननगर ११ का कांग्रेसबाट वडाध्यक्षका उमेदवार दिलीपचन्द्र घिमिरेले वडावासीको अपेक्षालाई खेर जान नदिने प्रतिबद्धता जनाए । कोणसभामा वडा सदस्य पदका उमेदवारहरु सुमित्रा दर्जी परियार, यशोधा अधिकारी, पञ्चुमाया गुरूङ, सोमबहादुर श्रेष्ठलगायतले आफूहरुलाई मत दिएर जिताउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया