रत्ननगर । नेपाली कांग्रेससहित सत्ता गठबन्धनले रत्ननगर वडा नं १२ मा विशाल मोटर र्‍यालीसहित कोणसभा आयोजना गरेको छ ।
जिरौनाचोकमा आयोजित कोणसभामा कांग्रेसबाट मेयर पदका साझा उमेदवार प्रह्लाद सापकोटाले आफूले सामाजिक क्षेत्रमा विगतमा गरेका काम, सामाजिक उत्तरदायित्वअन्तर्गत नगरले सम्बोधन गर्न नसकेका क्षेत्रमा गरेका योगदान र मतदाताको कांग्रेसप्रतिको आकर्षण नै जितको आधार भएको जिकिर गरे ।
उनले आफूले कम बोल्ने तर काम गरेर देखाउने भएकाले भाषणबाजी मात्रै नगर्ने बताए । ‘म चिप्ला भाषण गर्न जान्दिनँ’, उनले भने, ‘विकासप्रेमी युवा हुँ, काम गरेरै देखाउँछु ।
उनले मतदाताले पाँच वर्षका लागि दिएको मतको सम्मान गर्दै आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने बताए ।
रत्ननगर–१२ बाट कांग्रेसबाट वडाध्यक्ष पदकी उमेदवार अनिता अर्यालले आफू रत्ननगरका १६ वडामा एकमात्र महिला वडाध्यक्षको उमेदवार भएकाले आफ्नो वडालाई नमुना बनाउने दाबी गरिन् । कोणसभामा वडा सदस्य पदका उमेदवारहरु मिनकुमार दवाडी, सुकमाया विक, किसान बजगाईं, सन्तोषकुमार गोलेलगायत कांग्रेस, माओवादी र समाजवादीका नेताहरुले मन्तन्य व्यक्त गरेका थिए ।
मोटर ¥यालीसहित मत माग्न घरदैलोमा पुगेका मेयर पदका उमेदवार सापकोटा र उपमेयर पदका उमेदवार घिमिरेलाई मतदाताले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया