अजित अधिकारी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेले वनबाट आउने र वनबाट आएका दुबैले माडीका जनतालाई दुख दिएको बताएका छन् ।
माडीको बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा बुधबार भएको नगर भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
मंसिर ४ गते रविबार परेको हुँदा सो दिन रविको उदय हुने बताउँदै बाहरुलाई सम्मानका साथ बिदा गर्नुपर्ने उनको भनाइ थियो ।
यसैगरी उनले माडीका जनतालाई आकाशे पुलको सपना देखाएर जनतालाई नेताहरूले दुख दिएको बताए । बाँदरमुढेको घटना, शक्तिखोरको अडियो र मतपत्र च्यात्तिएको घटना आँफुले नबिर्सेको र आँफु अन्यायमा पर्दा चितवनबासीले लगाएको गुण कदापि कहिल्यै भुल्न नसकिने बताए ।
आफ्नो पार्टीमा नातावाद सिर्जना गरि केही बाहरु छोरी जिताउन कहिले कांग्रेस त कहिले एमाले बनेको आरोप लगाए । आफ्ना छोराछोरीको भबिस्य कस्तो बनाउने भन्ने कुरा तपाईंहरुमा नै रहेको हुँदा त्यसको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ मा मतदान गर्नुपर्ने जिकिर गरे ।
यसैगरी उनले, नारायणीको किनारमा सम्पन्न धन्यवाद सभाबाट रोपिएको बीउ हाल बिरुवाको रूपमा अगाडि आएको र पछि सितल छाहारी दिने रुख बन्ने बताउँदै उनले आफ्नो दलमा आउन सबैलाई आग्रह गरे ।
तर यस अगाडि चितवन क्षेत्र नं. ३ मा उनको उम्मेदवारी रहने विषयमा चर्चा भएपनि यस बारेमा लामिछानेले केही कुरा खुलाएनन् । बरु उनले माडीले सहयोग गरेमा चितवनबाट नै लड्न सकिने उनको आसय थियो ।