राप्ती, असोज २३ । चितवन क्षेत्र नम्बर १ बाट राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ टिकट नदिए पछि आज मनोनयन दर्ताको दिन उनले स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । यस उम्मेदवारीलाई उनले बिद्रोहको रुपमा लिएका छन् ।

चितवन-१ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा काँग्रेसबाट विश्व पौडेलले टिकट पाएका छन् ।काँग्रेसले पार्टीमा केही योगदान नभएको व्यक्तिलाई उम्मेदवारको लागि अगाडि सारेको उनको भनाइ छ । पार्टी नेतृत्वले जनताको मन नबुझेको उनले बताएका छन् ।

वि.सं. २०३७ देखि सक्रिय राजनितीमा लागेका बुर्लाकोटी उसअघि दुइ पटक सम्म पार्टीका उम्मेदवार भइसकेका छन् । उनी दुबै पटक एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए । आफू उम्मेदवार हुँदा लोकप्रिय मत ल्याएको उनले दाबी गरेका छन् ।

कार्यकर्ताको मनोबल राख्नको लागि आफूले उम्मेदवारी दिन लागेको उनले बताए । यस्तै प्रदेश-१ ‘क’ तर्फ धनराज गुरुङले उम्मेदवारी दिने भएका छन् । २०७४ को निर्वाचनमा गुरुङ पराजित भएका थिए । अहिले प्रदेश-१ ‘क’ मा किरण वलीले टिकट पाएका छन् ।

तपाईको प्रतिक्रिया