अजित अधिकारी
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा धुलोरहित बाटो निर्माण नहुँदा जनजीवन कष्टकर हुनुका साथै धुलाम्य भएर यात्रा गर्नुपर्ने जनतालाई बाध्यता छ ।

अघिल्लो पटकको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीका जनतालाई मणीको सपना देखाएर निकुञ्जमा आकाशे पुल र सुरुङ्ग मार्ग बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । फलस्वरूप चुनाव पनि जिते तर ५ बर्षे कार्यकालमा पनि काम गर्न नसकेका ‘प्रचण्ड’ अहिले फेरी अर्को चुनावका बेला एकाएक निर्वाचन क्षेत्र बदलेर गोरखा २ मा उम्मेदवारी दिएपछि जनतामा निराशा छाएको छ ।

चितवन क्षेत्र नं. ३ का जनतालाई प्रचण्डले आफ्नो कार्यकालमा पूरा गर्न नसकेका काम अवको कार्यकालमा पूरा गर्छन् भन्ने जनतामा ठुलो आशा थियो ।

यो बीचमा निकुञ्जमा धुलोरहित बाटोको सपना पनि देखाइएको थियो । तर सबै सपना माडीबासी जनताका लागि अझै अधुरै रहे । बारम्बार बेनामे उजुरीका कारण निकुञ्जमा धुलोरहित बाटो बन्न नसकेको भ्रम जनतामा पारियो ।

वन तथा वातावरण मन्त्री प्रदिप यादव समेत माडी आएर धुलो रहित सडकको अवधारणा अगाडि बढेको बताए । र उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व समाधानका लागि दिगो अवधारणा बनाउने र १५ दिनभित्रमा जंगली जनावर धपाउने यन्त्र समेत उपलब्ध गराउने बताएका थिए ।

तर अहिले फेरी प्रचण्डको सपना पूरा गर्छु भन्दै बामलोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार डा. भोजराज अधिकारी चुनावी मैदानमा उत्रिएका छन् ।

सदरमुकाम भरतपुरदेखि झन्डै ४२ किलोमीटरको दुरीमा रहेको माडी चितवन राष्ट्रिय निकुञ्जको बाटो हुँदै प्रवेश गर्नुपर्दछ । निकुञ्जभित्र कच्ची सडक भएका कारण अनियन्त्रित रूपमा उड्ने धुलोका कारण यात्रा गर्ने यात्रुहरुलाई असहज भएको छ ।

साँघुरो बाटो, र कच्ची सडकमा उड्ने धुलोले बाताबरण प्रदुषण हुनुका साथै चारैतिर मडारिएको धुलोले यात्रा गर्ने यात्रुहरूलाई कतै जनावरसंग जंकाभेट हुने त होइन ? भन्ने त्रास छाएको छ ।

पटकपटक निकुञ्जबाट प्रताडित बन्दै आएका माडीबासीहरुलाई नेताहरूले निकुञ्ज ऐन संसोधन, मानव र वन्यजन्तु बीचको द्वन्द्व समाधान, ब्यबस्थित रिउ, राप्ती करिडोर, धुलोरहित सडक जस्ता कयौं चुनावी नारा बनाएर जनताको ढाड सेक्नुसम्म सेकेका छन् ।

यसैगरी नजिकिदै गरेको निर्वाचनमा फेरीपनि नेताहरुले निकुञ्जको सडकको अबस्थालाई देखाएर अनेकौं नाराका साथ जनताको घरदैलोमा आइरहेका छन् ।

तर फेरी पछिल्लो समय काम गरेजस्तो पार्न देखाउन लागेको माडी नगरपालिकाले केही खोलाहरुमा कल्भर्ट राखेर प्रशंसा बटुल्दै गर्दा निकुञ्जको धुलाम्य सडकप्रती चासो नदेखाउनु स्थानीय निकायको ठुलो कमजोरी भएको जनताको आरोप छ । निकुञ्जमा धुलोरहित सडक नबन्दाको समयसम्म माडी नगरपालिकाले पानीको फोहोरा दिनको २ पटक दिन सकेमा जनतालाई केही राहतको महसुस हुने थियो । त्यसैले यसतर्फ स्थानीय निकायको छिट्टै ध्यानाकर्षण होस् ।

तपाईको प्रतिक्रिया