महेश पाण्डे
चितवन । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका साझा उमेदवार डां बिश्व पौडेलले अनेक योजना अगाडी सारेका छन् । योजना आयोगको उपाध्यक्ष समेत भइसकेका अर्थसास्त्रका ज्ञाताको रुपमा परिचित डां पौडेलले पूर्वी चितवनको समस्यालाई राम्रोसँग बुझेरनै होला निकै आशालाग्दा र गरेरै छाड्ने प्रतिवबद्धता सहितको आफ्नो २१ वटा बुँदालाई योजनाको रुपमा अगाडी सारेका छन् । डां. पौडेलले आफ्नो चुनावी प्रतिबद्धतालाई पूर्वाधार निर्माणमा केन्द्रित गरेका छन् ।

उनले चुनावी एजेन्डामा शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन तथा पूर्वाधार निर्माणलाई जोड दिएका छन् भने पूर्वी चितवनमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता पनि प्रकट गरेका छन् ।

डां. पौडेलका योजानामा सुकुमबासीलाई लालपुर्जा वितरणदेखि शक्तिखोर–मझिमटार सुरूङमार्ग निर्माण गरी काठमाडौँ, पोखराजस्ता मुख्य सहरहरुसँगको दूरी घटाउने सम्मको राष्ट्रियस्तरका बिकास निर्माणका खाँकाहरु समाबेस रहेका छन् । त्यति मात्रै नभएर उनले सुुकुमबासी समस्या सधैँका लागि अन्त्य हुने गरी आफुले काम गर्ने र चुनावलगत्तै लालपुर्जा वितरणको काम सुरू गर्ने पनि बताएका छन् ।

योजना आयोगको उपाध्यक्ष हुँदा देखिनै पूर्वी चितवन भएर बग्ने खोलाका कारण स्थानीय समुदायले भोग्दै आएको समस्या समाधानका लागि लागी परेका डां. पौडेलले आफ्नो एजेण्डामा खोलानाला तटबन्ध गर्ने, नदीकिनारलाई व्यवस्थित गरी साइकल लेन निर्माण गर्ने, पूर्वी चितवनमा व्यवस्थित बस्ती विकास गर्ने, एकीकृत खानेपानी तथा ढल निकासका लागि काम गर्ने, सुविधासम्पन्न सहकारी आवासीय विद्यालय स्थापना गर्ने गरि योजना बनाएका छन् ।
डां पौडेलले गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षाका लागि निजी विद्यालयसँग सहकार्य गरी छात्रवृत्ति उपलब्ध गराउने, आदिवासी तथा विपन्न समुदायको जीविकोपार्जनका लागि रोजगार तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, कृषि क्षेत्रको प्रवर्द्धनका लागि आधुनिक कृषि प्रणाली लागू गर्ने, युवालाई उद्यमी बनाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, रत्ननगर अस्पतालको स्तरोन्नति गरी सेवा थप गर्ने तथा राप्ती नगरपालिकामा २५ सैयाको अस्पताल निर्माण गर्ने योजना सहित आफु अगाडी बढेको बताएका छन् ।

त्यति मात्रै नभएर उनले पूर्वी चितवनका सम्पूर्ण क्षेत्रमा इन्टरनेटको व्यवस्था गर्ने, पूर्वी चितवनलाई धार्मिक, सांस्कृतिक, साहसिक तथा वन्यजन्तु पर्यटन केन्द्रको रुपमा विकास गर्ने, खेलकुदमैत्री सहरको रुपमा विकास गर्ने, ठाउँ–ठाउँमा खेल मैदान स्थापना गर्ने, पूर्वी चितवनमा सुविधासम्पन्न रङ्गशाला निर्माणका लागि पहल गर्ने गरि काम गर्ने अठोट लिएका छन् । सधै जसो ठूला बिकासका योजना भरतपुर केन्द्रीत हुने गरेको बताउदै डां. पौडेलले विकास निर्माणलाई पूर्वी चितवनमा पनि जोड दिने गरि काम गर्ने बताएका छन् ।

पूर्वी चितवनमा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण र मानवीय क्षति हुन नदिन निकुञ्ज ऐन परिमार्जन गर्न आफू लाग्ने बताउदै डां. पौडेलले पूर्वी चितवनका जनताको समस्या बुझेर नीति निर्माणदेखि स्थानीय समस्याहरुको पहिचान गरी समाधान गर्न र जनाताको सेवामा सधै रहि रहने प्रतिबद्धता पनि प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया