महेश पाण्डे,
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले बिपन्न नागरिकलाई निशुल्क उपचार गर्ने भएको छ । जसको लागि नगरपालिकाले ३० लाखको बिपन्न नागरिक उपचार कोषको स्थापना गरेको छ ।
आईतबार बकुलहर रत्ननगर अस्पतालमा एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले स्थापना गरेको सो बिपन्न नागरिक उपचार कोषको नगर प्रमुख प्रल्हाद सापकोटाले सुरुवात भएको घोषणा गरे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सापकोटाले आफुहरु निर्वाचित भएर आएपछि चुनावको दौरानमा बोलेका कुराहरुलाई पुरा गर्दै लाने प्रतिवद्धता अनुसार नगरपालिकाले करिब पैतिस सय बिपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गरि सकेको जानकारी दिए ।
उनले नगरपालिकाको चाहाना नगरमा शिक्षा र स्वास्थ्यको स्थर बृद्धि गर्दै लैजाने रहेको बताउदै उपचारबाट बन्चित भएका नागरिकलाई कसरी उपचार गर्न सकिन्छ भनेरनै नगरपालिकाले ३० लाखको बिपन्न नागरिक उपचार कोषको स्थापना गरिएको जानकारी दिए ।
नगर प्रमुख सापकोटाले सोे कोष बिपन्न लक्षित भएको जिकिर गर्दै पारदर्शी ढंगबाटनै कोषको कार्यन्वयन हुनेमा निश्चिन्त रहन सबैमा आग्रह गरे । उनले सोे कोषको रकम निशुल्क स्वास्थ्य बिमा पाईसकेका बिपन्नको हकमा भने लागु नहुने पनि जानकारी दिए ।
उनले यो वर्ष कोषमा ३० लाख बिनियोजन गरिएको जानकारी दिदै यसको प्रभावकारीता हेरेर आगामी वर्ष ६० लाख सम्म पुर्याउने लक्ष्य रहेको बताए ।
कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका उप प्रमुख यादव पाठकले अझै पनि नगरमा उपचारको लागि खर्च अभावको कारणले अकालमै ज्यान सम्म गुमाउनु पर्ने अवस्था देखिएकाले यो कोष निकै प्रभावकारी हुने बताए ।
उनले यो वर्षको कोषको रकमबाट हुने बिपन्नको अवस्था हेरेर आगामी वर्षको लागि कति बजेट बिनियोजन गर्ने भन्ने निचोड निस्कने जिकिर गरे ।
रत्ननगर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत छबिलाल सुवेदीले कोषको निर्माण केही समय पहिलानै भएको भएपनि कार्यविधि निर्माणमा ढिलाई भएको कारणले गर्दा कार्यन्वन गर्न केही ढिला भएको बताए ।
उनले रकम अभावले गर्दा उपचार अभावमा परेका बिपन्नको लागि यो कोष निकै लाभदायिक हुने जिकिर गरे ।
सो कार्यक्रममा रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्मचार्य, अस्पतालका मेसु मदन ज्ञवाली, अस्पतालका पूर्व अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठ लगाएतले आफ्नो धारणा ब्यक्त गरेका थिए ।