महेश पाण्डे
चितवन । रत्ननगरमा शनिबारबाट चितवन जिल्ला नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा चितवनमा रहेका ७ वटा नगरपालिकाको सहभागितामा नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको सो कार्यक्रमका संयोजक कृष्ण चौधरीले जानकारी दिए ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले मंसिर २४ गते देखि पौष २ गते सम्म नेपाल मा.बीको मैदानमा फुटबल प्रतियोगिता हुने बताए । उनले सो प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १ लाख ११ हजार १ सय ११ र द्धितिय हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपैया नगद सहित सिल र मेडल प्रदान गरिने जानकारी दिए ।
चौधरीले प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद रु २ हजार ५ सय र सम्पूर्ण खेल मध्ये म्यान अफ दि सिरिज हुने खेलाडीलाई नगद रु १२ हजार ५ सय प्रदान गरिने जानकारी दिए ।
चौधरीले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै सहभागि टिम र आउने दर्शक सबैलाई निःशुल्क प्रवेशको ब्यवस्था गरिएको जिकिर गरे ।
कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी बद्रीनाथ शर्माले सो प्रतियोगिताको लागि नगरपालिकाले ७ लाख ९८ हजार ६ सय ६६ रुपैया बजेट बिनियोजन गरेको जानकारी दिए ।
उनले यसि अघि पनि नगरमा रत्ननगर नगरपालिका भित्रका वडाहरुको सहभागितामा मेयर कप प्रतियोगिता गरिएको भएपनि यो भने चितवन जिल्ला स्तरिय अन्तर नगरपालिका फुटबल भने पहिलो भएकाले जिल्ला नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता नामाकरण गरिएको जानकारी दिए ।
सो कार्यक्रममा उपस्थित राष्ट्रिय खेलाडी लेखनाथ घिमिरेले रत्ननगर नगरपालिकाका सबै वडामा पत्रचार गरेर प्राप्त खेलाडीहरुको अवस्था अनुसार टिम छनोट गरिएको बताए । उनले प्रतियोगित सम्पन्न भएपछि पनि नगरपालिकाले खेलाडीकोलागि छुट्टै बजेट बिनियोजन गर्न सके खेलाडीको लागि राम्रो अवस्थाको सिर्जना हुने जिकिर गरे ।