महेश पाण्डे
चितवन । चितवनको सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल प्रविधिमैत्री बन्दै गएको छ । हरेक दिन जसो दुई हजार भन्दा बढी बिरामीले यस अस्पतालबाट बिभिन्न स्वास्थ्य सम्बन्धि सेवा लिइनै रहेका हुन्छन् ।

बिरामीहरुलाई सहजताको लागि भनेर अस्पताल अहिले प्रविधि मैत्री बन्दै गइरहेको छ । यसको उदाहरण हो निशुल्क अनलाईन टिकट अनि बार कोर्डबाट सिधै मोबाईलको माध्यमबाट पैसा तिर्न मिल्ने सुविधा ।

चितवन मात्रै नभएर देशका धेरै ठाउँबाट बिरामीहरुको हरेक दिन घुँइचो लागि रहने यस अस्पतालमा अनलाईन टिकटको ब्यवस्था बिरामीलाई समय बचत गर्ने एउटा अवसर बन्दै गएको छ । तर पनि यसको बारेमा धेरैलाई थाहा नहुँदा अझै पनि लाइनमानै बसेर टिकट लिनेको संख्या भने नघटेको बताउनु हुन्छ अस्पतालका मेसु डा. कृष्ण प्रसाद पौडेल ।

डां. पौडेलले भरतपुर अस्पतालको वोभ साइट https://bharatpurhospital.gov.np/ मा गएर सहज ढंगबाट अनलाईनमा टिकट काट्न सकिने भएकाले गाह्रो गरेर लाइनमा बस्न नपर्ने बताउछन् ।

उनि भन्छन् “अस्पतालले निशुल्क रुपमा अनलाईन टिकटको ब्यवस्था गरेको लामो समय भयो तर अझै पनि टिकट लिनको लागि घण्टौ सम्म लाइन लागेको देख्छु, अहिले सबैको हात हातमा ईन्टरनेटको पहुँच छ त्यसको प्रयोग गरे सबैलाई सहज हुने थियो ।”

डा. पौडेल लाइनमा बस्दा घण्टौ समय लाग्यो भनेर गुनासो गर्नेको संख्या धेरै भएको तर त्यसको बिकल्पको बारेमा चाँसो भने नदिदा बिरामीले समयको बचत गर्न नसको बताउछन् । भरतपुर अस्पतालको बिश्वसनियताकासँगै सबै रोगको उपचारमा दक्ष र खर्च पनि कम लाग्ने भएपछि बिरामीको धेरै भिड बढ्दै गएको बताउदै उनले बिरामीको सहजताको लागि काम गर्दा बिरामीले सो सुविधाको प्रयोग नगर्ने र अस्पतालले गरेन मात्र भन्ने कुराले भने आफुलाई दुःखी बनाउने गरेको बताउछन् ।

डा. पौडेल भन्छन् “धेरै बिरामीको एकै पटक भिड, सिमित श्रोत साधनले गर्दा पक्कै हामीमा पनि समस्या छन् त्यसैले त हामीले समस्याको समाधान खोज्दै गइरहेका छौ ।” त्यसैको उदाहरण निशुल्क अनलाईन टिकट काट्ने ब्यवस्था रहेको बताउदै डा. पौडेलले बिरामीलाई नगद बुझाउन गाह्रो भएको बुझेर बारकोडबाट अनलाई भुक्तानिको पनि ब्यवस्था गरिएको बताए । उनले अस्पतालले उपलब्ध गराएको सो सुविधाको प्रयोग गरेर समय अनि पैसाको बचत गर्न सबैलाई आग्रह समेत गरे ।

केहि दिन अघि ढाडको समस्या भएपछि उपचार गर्न आएका रत्ननगरका ईश्वरी प्रसाद पाण्डेले अनलाईन टिकट काटेर आउदा निकै सहज भएको सुनाए । उनले आफु बिरामी भएपनि छोराले तत्कालै समयको बचत पनि हुने भनेकाले अनलाईबाट निःशुल्क टिकट काटेर आउदा सहजै र छिटो उपचार सहज ढंगबाट पाएको बताए ।

उनले यस अघि पनि उपचार गर्न आउदा अस्पतालमा टिकट काट्न मात्रै घण्टौं लाइन बस्न परेको स्मरण गर्दै अनलाईन टिकटले निकै सहज बनाएको जिकिर गरे । पाण्डेले टिकट काट्न समय लाग्यो पनि भन्ने अनि अनलाईनमा २ मिनेटमा हुने काम पनि नगर्ने हो भने गुनासो गर्नुको कुनै तुक नहुने बताए ।

तपाईको प्रतिक्रिया