अजित अधिकारी
चितवन । माडीमा कित्ताकाँट रोकिएपछि स्थानीयबासीहरु चिन्तित भएका छन् । तरपनि यसबारेमा स्थानीय निकायले चासो देखाएको देखिदैन ।
ठुलठुला जग्गा दलालहरुको हालीमुहाली भइरहँदा सर्वसाधारण गरिव जनताको कित्ताकाँट नहुनुले स्थानीय निकाय र मालपोत कार्यालय नै जनताको समस्याको बारेमा बेखबर भएको जनताको गुनासो छ ।
दैनिक जसो कित्ताकाँटका लागि झन्डै १५० जनाको हाराहारीमा आउने नागरिकहरु काम नभएपछि निराश हुँदै घर फर्कनुपर्ने अवस्था छ । भने फाइलहरु अगाडि बढाउनका लागि पैसा नै अगाडि सार्नुपर्ने स्थानीयबासीको आरोप छ ।
पछिल्लो समय स्थानीय निकाय र मालपोत कार्यालयमा देखिएको भ्रष्टाचार अनियमितता र बेथितिका सन्दर्भमा समेत जनस्तरबाट नै गुनासो बढ्न थालेको छ । जनताको काम समयमा नै हुन नसक्नु, जनताले पेश गरेका फाइलहरु अड्किरहनु, स्थानीय निकायले समयमा नै जनतालाई आयब्यय तथा प्रगति प्रतिबेदन प्रस्तुत गर्न नसक्नु, बिकास निर्माणका काममा तदारुकता नदेखाउनु र ढिलासुस्ती हुनु जस्ता समस्याहरु बढ्दै गइरहेका छन् । भने लामो समयदेखि कित्ताकाँट नहुनु, अव्यवस्थित तरिकाले खेतीयोग्य जमिनको अतिक्रम हुनु, जथाभावी जग्गा लिजमा दिनु जस्ता समस्याहरुका कारण नगरपालिका विवादमा पर्दै आएको छ ।
उता मालपोत कार्यालयमा रोकिएको कित्ताकाँट र अनियमितताका सम्बन्धमा प्रश्न गर्दा यसबारेमा आँफुलाई कुनै जानकारी नभएको र आफ्नो कार्यकालमा अहिलेसम्म त्यस्तो कोही कसैसंगपनि अनियमितता गरेर पैसाको चलखेल नभएको मालपोत कार्यालयका प्रमुख नवराज घिमिरेले नेपालीको आवाज डटकमसंग बताए ।
तर जग्गा कित्ताकाँट सम्बन्धमा स्थानीय निकाय र सरकारको मातहत अनुसार चल्नुपर्ने हुँदा अहिलेसम्म यसबारेमा स्थानीय निकायले ठोस प्रतिक्रिया नदिदा कित्ताकाँट अगाडि बढाउन नसकिएको प्रतिक्रिया दिए ।