अजित अधिकारी
चितवन । तत्कालीन समयमा प्रधानमन्त्री हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बि.स. २०७७ सालमा भानु जयन्तीको अबसर पारेर राम जन्मभूमि माडीको अयोध्यापुरी भन्दै खुलासा गरेका थिए ।

त्यस पश्चात् माडी नगरपालिका वडा नं. ८ र ९ को सीमा क्षेत्रमा पर्ने १०० बिगाहा क्षेत्रफलमा फैलिएको कृष्णनगर पार्क भनिने चौरलाई अयोध्याधाम निर्माण स्थलका रूपमा छनौट गरियो । ओलीले काठमाडौंबाट नै भव्य विशाल रथ यात्रा सहित राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति समेत स्थापना गराए । जसको लागि त्यतिबेला ल्याइएका मूर्ति स्थापना गराउनका लागि बनाइएको एकवटा (अस्थायी) मन्दिर बाहेक अन्य संरचनाहरु अझै निर्माण हुन सकिरहेका छैनन् । मूर्ति स्थापना गरिएदेखि प्रत्येक बर्षको रामनवमीका अबसरमा समितिले विभिन्न मेला उत्सव आयोजना गर्दै आएको भएतापनि मन्दिर निर्माणको कार्य भने अझै ओझेलमा नै छ ।

यसरी समयमा नै मन्दिर निर्माण हुन नसक्नुले जनतालाई आफ्नो पकडमा लिन र क्षणिक स्वार्थका लागि राजनीति गरेको जस्तो देखिन्छ । यसैगरी मन्दिर निर्माणका लागि पुर्णता दिने भन्दै तत्कालीन समयमा पर्यटन तथा संस्कृती मन्त्री भानुभक्त ढकाल यसैगरी एमाले अध्यक्ष ओली लगाएतका नेताहरु माडी आएर मन्दिर निर्माणका लागि प्रतिबद्धता जाहेर गरेपनि अहिलेसम्म काम भने हुन सकिरहेको छैन ।

बिगतमा प्रस्तावित अयोध्याको निर्माण कार्यका लागि आबश्यकता अनुसारको बजेट छुट्टाउने भनिएतापनि अहिलेसम्म २ पैसापनि नआएको र संरचना निर्माणका लागि डिपिआर समेत तयार नभएको समितिको भनाइ छ ।

उता, माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर परुई खोलाको किनारमा बसोबास गर्ने भूमिहिन चेपाङहरुले नगरपालिकाले आँफुहरुलाई घर न घाटको बनाइदिएको बताएका छन् । फेरि नेताहरूले बिगतमा अयोध्याधाम र परुईका चेपाङको घर संगसंगै बनाउने विषयमा समेत निर्णय भएको बताएका थिए ।

अघिल्लो कार्यकालमा नै नगरपालिकाले परुई किनारमा अस्थायी घर टहरा बनाई बस्दै आएका झन्डै ६८ घरधुरी परिवारलाई ३ कोठे घर र एक ओटा पक्की शौचालय बनाइदिने निर्णय गरेको थियो । तर निर्णय गरेको यतिका बर्ष बितिसक्दा समेत घर बनाउने विषयमा नगरपालिका बेखबर बनेको स्थानीय कमल चेपाङले बताए ।

यसैगरी घर बनाउने प्रतिबद्धता जाहेर गरेका पूर्व नगर प्रमुख ठाकुर प्रसाद ढकाल र वर्तमान नगर प्रमुख ताराकुमारी काजी महतोलाई भेटेर कयौंपटक समस्या अबगत गराएको भएपनि आश्वासन मात्र पाएको अर्का स्थानीय छबिलाल चेपाङले बताए ।

यस अगाडि नगरपालिकाले माडी ९ स्थित कृष्णनगर राई डाँडा (धम्पुस चोकमा) रहेका ७८ घरधुरी चेपाङहरुका लागि ३ कोठे पक्की घर र एक वटा पक्की शौचालय निर्माण गराएर नमुना चेपाङ बस्ती निर्माण गरिसकेको छ । तर परुई किनारमा बस्ने चेपाङहरुका लागि बिजुली बत्तीको समेत समस्या रहेको छ ।

तपाईको प्रतिक्रिया