रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा चितवनको रत्ननगरस्थित टिकौली चौरमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको समापन गर्दै मेयर प्रल्हाद सापकोटाले विद्यार्थीहरुका लागि खेलकुद एउटा गहना भएकाले यसको माध्यमबाट आफ्नो प्रतिभा प्रदर्शनी, अनुशासनका साथै राष्ट्रको गरिमा बढाउन सहयोग पुग्ने बताए ।
रत्ननगर नगरपालिकाले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षासम्म प्राथमिकताका साथ छात्रवृत्तिको व्यवस्था गरेको बताउँदै विद्यार्थीहरुले खेलकुदमा जसरी शैक्षिक प्रगति गर्नेगरी अघि बढ्न आग्रह गरे । उनले विजयी विद्यार्थीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्दै सक्षम खेलाडी उत्पादनका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने जिकिर गरे ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगर क्षेत्रभित्रका संस्थागत र सामुदायिक गरी ३१ वटा विद्यालयका ५२५ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा भलिबल, तेक्वान्दो, कबड्डी, दौड, जेभलिन थ्रो, रिले, लङजम्प, त्रिपलजम्पलगायतका खेलहरु खेलाइएका थिए । विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयका प्रतियोगीलाई मेयर सापकोटा, उपमेयर यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, वडाध्यक्षलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
नगर खेलकुद विकास समितिका संयोजक कृष्ण महतोको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगरका विभिन्न शाखाका प्रमुख एवं कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम रत्ननगर न्यायिक समितिका सदस्य देवेन्द्र भुजेलले सञ्चालन गरेका थिए ।