
अजित अधिकारी
चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं सहरी बिकास मन्त्री बिक्रम पाण्डेले यसै क्षेत्रका प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालप्रति गहिरो कटाक्ष गर्दै संस्थापक नगर प्रमुख हुँदा ढकालले माडीका खेतीयोग्य जमिन खण्डिकरण गरेर बाहिरी मान्छेलाई बेच्नु र लिजमा दिनु दुर्भाग्य भएको बताएका छन् ।
माडी नगरपालिकाद्वारा अयोजित माडी क्याम्पसको सभाहलमा राखिएको सम्मान तथा बधाई कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
निकुञ्ज ऐन, रिउ करिडोर, सडक स्तरोन्नति, सुकुम्बासी समस्या र बाँदरझुलाको बस्ती ब्यबस्थापन वा स्थान्तरण आदिका विषयमा राजनीतिक दलका प्रतिनिधिहरूवाट आएका प्रश्नहरुको जवाफमा मन्त्री पाण्डेले सबै मिलेर यसको समाधान गर्नुपर्ने तर्क गरेका थिए । त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चितवनकै भएको र भौतिक पूर्वाधार मन्त्री माओवादी पार्टीका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ रहेको त्यस्तै चितवन क्षेत्र नं. ३ (ख) प्रदेशसभामा माओवादीका ठाकुर प्रसाद ढकाल र सोही पार्टीकै मुख्य मन्त्री भएको हुँदा काम गर्न सहज हुने र यो समयमापनि बिकासका कामहरु अगाडि नबढेमा माडीको बिकास कहिल्यैपनि नहुने उनको तर्क थियो । त्यस्तै मन्त्री पाण्डेले बिगतमा आँफु सांसद हुँदा माडीलाई नगरपालिकामा परिणत गराएको जिकिरगर्दै निकुञ्जमा कर मिनाहा, मालपोत, नापी र ईलाका प्रशासन समेत आफ्नै पहलमा ल्याएको बताए ।
यसैगरी सुकुम्बासी बस्ती ब्यबस्थापन र लालपुर्जाका बारेमा आँफु वन मन्त्री हुँदा बाँदरझुलाका भूमिहिन नागरिकहरुलाई स्थान्तरण गरेर भरतपुर हाइवे रोडको दायाँबायाँ क्षेत्रमा राख्न चाहेको तर काम गर्न नदिइएको बताए ।