रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ३ मा विकास निर्माणको कामले गति लिएको छ । नागरिकलाई सुशासन,किसानलाई अनुदान,शिक्षा र स्वास्थ्यको काम प्रक्रियागत रुपमा गरिरहेको सो वडाले विकास निर्माणको कामलाई भने तीब्र रुपमा अगाडि बढाएको हो । खोलामा तटबन्धन निर्माण देखि सडक तथा ढल निर्माणको काम तीब्र रुपमा भइरहेको वडाध्यक्ष सोहेन्द्रराज खरेलले जानकारी दिए । सो वडाले भित्री सडक कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिएको छ । कृषि सडकहरुलाई कालोपत्रे गर्ने तर्फ ध्यान केन्द्रीत गरेको वडाध्यक्ष खरेलले बताए । उनले चालु आर्थिक बर्षमा ग्रामिण सडक कालोपत्रे गरेर सक्ने गरी काम भइरहेको बताए । वडा भित्रका मुख्य सडकहरुको स्तरउन्नती गरी ढल निर्माणको काम भइरहेको छ । बेल्सी हाजीपुर सडक खण्डको सयपत्री टोल विकास संस्थाको सेवा क्षेत्रमा पर्ने २६० मिटर ढल निर्माणको काम सकिएको छ । सोही सडक खण्ड अन्तर्गत मुक्तेश्वर टोल विकास संस्था अन्तर्गत ४०० मिटर र उपकार टोल विकास अन्तर्गत ४०० मिटर ढल निर्माणको काम भइरहेको वडाध्यक्ष खरेलले बताए । उनले बेल्सीचोक जाने भित्री सडक र बन्सी सडक कालोपत्रे गरिएको बताए । केन्द्र, प्रदेश र स्थानीय सरकारको त्रिपक्षिय लगानीमा वडा भित्र विकासको काम भइरहेको छ । सो वडाका वडाबासीलाई कयर खोलामा हरेक बर्ष आउने बढीले दुख दिने गरेको छ । केन्द्र सरकारको लगानीमा कयर खोलामा तटबन्धनको भइरहेको छ । वडा भित्र भइरहेका हरेक विकासका योजनाको नेतृत्व वडाले गरिरहेको अध्यक्ष खरेलले बताए ।

वडा नं–३ मा भइरहेका विकास निर्माणका कामको शनिबार रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले अनुगमन तथा निरीक्षण गरेका थिए ।

तपाईको प्रतिक्रिया