अजित अधिकारी
चितवन । असली अयोध्याका अध्येता एवं अनुसन्धाता लेखक तथा इतिहासकार लोकमणि पौडेल सहितको टोली आज (मंगलबार) माडी आएको छ ।
उक्त टोलीमा अयोध्याका अध्येता लोकमणि पौडेल, उनका कान्छा छोरा अभयमणि पौडेल, शब्द चिन्तन संघ चितवनका अध्यक्ष लोकचन्द्र अधिकारी र अयोध्याका बारेमा अध्ययन गरिरहेका कृष्णानन्द खड्का छन् । उक्त टोली माडीमा ३ दिनसम्म रहेर माडीका विभिन्न धार्मिक एवं ऐतिहासिक स्थलहरुको अध्ययन सहित अबलोकन गर्नेछ । छरछरे, सोमेश्वर गढी, शनि तथा कालिका, रेवा तथा त्रिबेणी, शितलपुरको सबैभन्दा लामो झरना, बैकुण्ठ धाम र देबेन्द्रपुर परुई खोलाको सिरानमा तत्कालीन समयमा गएको सुख्खा पहिरो लगाएतका क्षेत्रमा पुग्नेछ ।
यसअघि अयोध्याका अध्येता लोकमणि पौडेलले तत्कालीन समयमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई असली अयोध्या चितवनको माडी नै भएको अबगत गराएका थिए । अध्येता पौडेलले वाल्मीकि रामायणसंग आधारित रहेर १२ बर्षदेखि गहिरो अध्ययन गर्दै असली अयोध्या नामक कृति प्रकाशन गर्दै छन् । उनले लेखेको उक्त पुस्तकमा सय भन्दा बढी प्रमाणहरु समेटेर अयोध्या दर्शनिय स्थलहरुको बर्णन समेत गरिएको पौडेलको भनाइ छ ।
उक्त टोलीलाई माडी नगरप्रमुख ताराकुमारी काजी महतो र माडी ६ का वडाध्यक्ष एवं नगर सामाजिक बिकास समितिका संयोजक दिपेन्द्रराज पौडेलले फुलमाला लगाएर स्वागत तथा सम्मान गरेका थिए ।