रत्ननगर । रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २१ संस्थागत विद्यालय गरी ५० विद्यालयका ११ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियान सुरू भएको छ ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको सहयोगमा प्राप्त एचपिभीविरुद्धको खोप विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा रत्ननगर नगरपालिकाका दुई हजार बालिकालाई खोप लगाउन सुरू गरिएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिए ।
रत्ननगर–१ स्थित बकुलहर माविका सहायक प्रधानाध्यापक भोजराज पौडेलको अध्यक्षतामा सञ्चालित खोप अभियानका प्रमुखअतिथि रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले एचपिभीविरुद्धको खोप बालिकालाई अत्यन्त प्रभावकारी रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्दै रत्ननगर नगरपालिकाले स्वास्थ्यसँग सम्बन्धित विविध कार्यक्रम ल्याएको बताए । स्वास्थ्य र शिक्षाबाट कुनै पनि बालबालिका विमुख हुन नपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यक्रम संयोजक डा. कृष्णप्रसाद सुवेदीले एचपिभीविरुद्धको भ्याक्सिनको प्रभावकारिताबारे चर्चा गर्दै एचपिभी खोप लगाएपछि भाइरसको सङ्क्रमण, पाठेघरको मुखको क्यान्सर, योनीको क्यान्सरबाट बचाउन सकिने बताए । उनले एचपिभी खोप पाँचदेखि एक वर्षको फरकमा दुईपटक लगाउनुपर्ने बताए । विश्वका धेरै देशमा लगाइएको सो खोपको साइड इफेक्ट नरहेको उनले जानकारी दिए ।
कार्यक्रममा नगरशिक्षा अधिकारी बद्रिनारायण शर्मा, नगरसमिति सदस्य नेत्रप्रसाद घिमिरे, स्वास्थ्य शाखा प्रमुख माधव पौडेल र स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । आइतबार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका प्राविधिक टोलीले ६५ जना बालिकालाई खोप लगाएका थिए । खोप कार्यक्रम फागुन २९ गतेसम्म सञ्चालन हुनेछ ।