अजित अधिकारी
चितवन । चितवन क्षेत्र नं.२ मा आउँदो बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेता जीवलाल पुरीले आँफु कसैप्रतिपनि कटाक्ष नगर्ने र आफ्नै एजेन्डामा अडिग रहने बताएका छन् ।
पछिल्लो समय सामाजिक संजाल र चुनावी प्रचारप्रसारमा रा.स्व.पा. सभापति रवि लामिछानेप्रति दोषारोपण गर्ने र आफ्ना चुनावी एजेन्डा जनतामाझ प्रस्तुत नगरी अरुमाथी गालीको बर्षा गराउनेहरु भन्दा आँफु भिन्न र जनताको समस्या बुझ्ने नेता भएको बताएका छन् ।
उनले भने म अरु जस्तो रविलाई गाली गर्दै हिड्ने मान्छे होइन । रवि आफ्नो बिचार र सिद्धान्तमा अडिग छन् । त्यस्तै म पनि आफ्नो बिचार सिद्धान्त र एजेन्डामा अडिग भएको हुँदा मैले जनतालाई आफ्नो भिजन बताउने हो । तर अरुमाथी दोषारोपण गरेर नै चुनाव जितिन्छ भन्ने आँफुलाई नलागेको बताए ।
साथै नेता पुरीले संसदमा पुगेर देशको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता, सुशासन, सेवा प्रवाह तथा संवृद्धिसंग सम्वन्धित विषयमा केन्द्रीत रहेर भुइँमान्छेको आवाज वकालत गर्ने बताएका छन् । त्यस्तै उनले चितवन २ का जनताको समस्याप्रति आँफु जानाकार भएको हुँदा चितवनको बिकासमा जोड दिने बताए ।
यसैगरी भ्रष्टाचार गर्नु आमाको रगत पिए सरह हुने हुँदा राप्रपाको नारालाई पाइला पाइलामा मनैदेखि आत्मसात् गर्ने समेत प्रतिबद्धता जाहेर गरे ।
त्यस्तै उनले आफ्ना एजेन्डाहरुमा संवैधानिक राजसंस्था तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, सनातन हिन्दु राष्ट्र पुनर्स्थापना गराउनुपर्ने, संघीयताको खारेजी, स्थानीय तहहरूको पुनर्संरचना सुदृढीकरण गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण तथा सुशासनको प्रवर्द्धन हुनुपर्ने, बढ्दो युवा पलायन रोक्न आवश्यक पहल स्टार्टअप सहित उद्यम र रोजगारी प्रवर्द्धन गराइनुपर्ने, नि:शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको लागि गम्भीर पहल गरिनुपर्ने, धर्म, संस्कृति, सम्पदाहरूको संरक्षण र सम्वर्द्धन जस्ता विषयहरु रहेको हुँदा यो देशको दुरगामी हितको लागि आउँदो वैशाख १० मा “हलो” चिह्नमा मतदान गरी बिजयी गराउन आम मतदाता समक्ष आग्रह गरेका छन् ।