रत्ननगर । रत्ननगर नगरपालिका न्यायिक समितिको आयोजनामा वडास्तरीय मेलमिलापकर्ताहरुको लागि न्यायिक समिति र विद्यमान कानुनसम्बन्धी एकदिने कानुनी साक्षरता कार्यक्रम रत्ननगर नगरकार्यपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्‌घाटन गर्दै नगरप्रमुख प्रलाद सापकोटाले आ आफ्नो गाउँटोलमा भएका ससाना विवादहरुको निरूपण आमा समूह र टोलविकास समितिबाट गर्न सकिए प्रहरी र अदालतसम्म झन्झट बेहोर्नु नपर्ने बताए ।

उनले सर्वप्रथम व्यक्तिमा सकारात्मक सोचको विकासको जरूरी रहेको बताउँदै अहंकार हटाएर कानुनभन्दा माथि कोही छैन भन्ने अनुभूति हरेक नगरवासीमा दिलाउँदै तालिममा सिकेका कुरा गाउँटोलमा अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

नगर उपप्रमुख एवं न्यायिक समितिका अध्यक्ष यादवप्रसाद पाठकले सामान्य नागरिकलाई मुद्दा मामिला र झमेला व्यहोर्न नपरोस् र अनावश्यक खर्च गरी अदालतसम्म जान नपरोस् भन्ने उद्देश्यले कार्यकमको आयोजना गरिएको बताए ।

न्यायिक समितिका सदस्य यशोदा पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता गोपिलाल देवकोटा र अधिवक्ता दिवाकर अर्यालले प्रथिक्षण दिएका थिए । तालिमको सहजीकरण न्यायिक समितिका सदस्य सचिव प्रिन्का थापा र अमृता चापागाईंले गरेका थिए ।

कार्यक्रममा न्यायिक समितिका सदस्य देवेन्द्र भुजेल, नगर प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, वडाध्यक्षहरू, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरु तथा रत्ननगरभित्रका मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया