काठमाडौं, असार २१ । नेपालबाट जापानमा विद्यार्थी भिसामा जाने विद्यार्थीहरुलाई भाषा शिक्षण र शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएका परामर्शदाताहरुको छाता संस्था “सक्रिय शैक्षिक परामर्श संघ नेपाल” अर्थात अंग्रजीमा एक्यान स्थापना भएको छ ।

बुधवार राजधानीमा आयोजित सदस्य भेटघाट कार्यक्रममार्फत संस्था सम्बन्धित सबै सरकारी निकायमा दर्ता भएको औपचारीक जानकारी गराइएको हो । जापान शैक्षिक परामर्श ब्यवशायीहरुको गत बैशाखमा काठमाडौंमा सम्पन्न भेलाबाट गठित तदर्थ समितिले गत असार ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा र असार १८ गते समाज कल्याण परिषद्मा संस्था दर्ता गरेको संघका उपाध्यक्ष केशवराज अर्यालले कार्यक्रममा जानकारी दिए । संस्थाको अंग्रेजी नाम एक्टिभ एजुकेशनल कन्सल्टेन्सी एसोशिएशन, नेपाल र छोटकरीमा एक्यान राखिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष किशोर तिवारीले जापानको शैक्षिक परामर्श सेवालाई ब्यवस्थित, मर्यादित बनाउँदै शैक्षिक परामर्श सेवालाई राज्यबाट पहिचान दिलाउनु आफूहरुको मुख्य उद्देश्य रहेको बताए । साथै संघमा आवद्ध संस्थाहरुबीच एकरुपता कायम गर्न आचार संहिता, तालिम लगायतका ब्यवस्था गरीने पनि उनले जानकारी दिए ।

संघले आगामी भाद्र मसान्तभित्र पहिलो वार्षिक साधारण सभा सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्नेछ । जानकारी सभामा सचिव शिवप्रसाद सुवेदीले स्वागत मन्तब्य तथा कोषाध्यक्ष अनिल भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन प्रवक्ता तिर्थ भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया