
चितवन, साउन १०–
युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तर माध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुई दिने प्रतियोगिता आयोजना हुन लागेको हो ।
चितवन जिल्ला फुटबल संघले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै यही साउन २० र २१ गते भरतपुरस्थित द शरदपुर फुटसल खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । संघका अध्यक्ष श्रीकृष्ण कार्की भन्छन्–‘यस प्रतियोगिताले युवा भाइहरुलाई फुटसल र फुटबल खेलतर्फ आकर्षित बनाउन महत्वपूर्ण भूमिका खेल्छ, युवाहरुलाई खेलप्रति रुची बढाउनकै लागि हामीले यो प्रतियोगिता आयोजना गरेका हौं ।’
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.को २०औं वार्षिकोत्सवको अवसर पारेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने गरि प्रतियोगिता आयोजना गर्न लागिएको हो । एक्सपर्टले साउन २३ अर्थात् अगष्ट ८ मा २०औं वार्षिकोत्सव समारोह मनाउँदै छ । त्यसैको छेकोमा प्रतियोगिता यही साउन २० र २१ गते भरतपुरस्थित द शरदपुर फुटसल खेलस्थलमा प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक मिराज पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि यही साउन १७ गते साँझ ५ बजेभित्रमा टिम दर्ता गराउनुपर्ने हुन्छ । टिम दर्ताका लागि निःशुल्क व्यवस्था मिलाईएको छ । त्यसका लागि मिराज पौडेलः ९८०७१६६५६६ र गोपाल गुरुङः ९८४५९२०९५५ लाई सम्पर्क गर्नुपर्ने हुन्छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार प्रथम पुरस्कार रु.२० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार रु.१५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार रु.१० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र र विभिन्न उपहारहरु र प्लेयर अफ दि म्याचलाई प्रमाणपत्र र विभिन्न उपहारहरु प्रदान गरिने आयोजकले जनाएको छ ।
एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारी भन्छन्,–‘सामाजिक उत्तरदायित्व वहन गर्दै हामीले विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउनुको साथै सहकार्य गर्दै आइरहेका छौं । विगतदेखि नै खेलकुद क्षेत्रलाई सहयोग गर्दै आइरहेकोमा यसपटक युवाहरुलाई फुटसल खेलमा अगाडि बढाउन फुटसल प्रतियोगिता आयोजना गर्न सहकार्य गरेका हौं । आगामि दिनमा यस खालका प्रतियोगिता अगाडि बढाउन हामी सधै तत्पर रहने छौं ।’
चितवन जिल्ला फुटबल संघ (एन्फा)ले जिल्लामा खेलकुदको गतिविधिहरु बढाउँदै लगेको छ । जिल्लामा विभिन्न खालका फुटबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न एन्फा चितवनले सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ । आफ्नै आयोजना र विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने प्रतियोगिताहरुमा हातेमालो गर्दै आइरहेको छ । पछिल्लो समय फुटबलसंगै फुटसल समेत लोकप्रिय बन्दै गइरहेकोले फुटसललाई पनि प्राथमिकतामा राखिएको संघले जनाएको छ ।