रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा मंगलबारदेखि रत्ननगर तीज साँस्कृतिक महोत्सव सुरु भएको छ । दी हेल्पिङ युथ क्लव रत्ननगरले हरितालिका तीजको अबसरमा सो महोत्सव आयोजना गरेको हो । महोत्सव सुरु हुनुपूर्व विहान रत्ननगरमा भब्य शोभायात्रा निकालिएको थियो । महोत्सवको बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गरेका थिए । संस्कृति संरक्षण तथा जिल्लाको आर्थिक विकासको गर्ने उद्देश्यले शान्तिचोक स्थित खुल्लाचौरमा महोत्सव आयोजना गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्णप्रसाद खनालले तीजको अबसरमा आयोजना गरिएको सांस्कृतिक महोत्सवले स्थानीय स्तरमा आर्थिक विकासमा टेवा पुग्ने बताए । पछिल्लो समय हराउदै गएको तीजको मौलिक संस्कृति जर्गेना गर्न महोत्सव कोसेढुंगा सावित हुने भन्दै उनले महोत्सवलाई शभ्य रुपमा अगाडि बढाउन आग्रह गरे ।
महोत्सवमा १५० वटा व्यवसायिक स्टलहरु रहेका छन् । महोत्सवमा तीज केन्द्रीत स्टलसंगै तीजको दिन महोत्सव परिसरमा भब्य तीज गीत कार्यक्रम गरिने छ । स्थानीय स्तरका प्रतिभा पहिचान र जिल्ला भित्रका उत्पादनको बजारीकरण मार्फत राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य महोत्सवको आयोजना गरिएको मुल समारोह समितिका संरक्षक सुजन क्षेत्रीले बताए । कोरोना महामारीको चपेटामा रहेको चितवनको पर्यटनलाई उकास्ने गरि महोत्सवमा गतिविधि समावेश गरिने छ । महोत्सवले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा योगदान दिने उनले बताए । ओमशक्ति मारुती इभेन्ट एण्ड म्यानेजमेन्ट नामक संस्थाको सहयोगमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा बाल उद्यन, कृषि परिसर तथा सांस्कृतिक कार्यक्रम तर्फ तीज गीत प्रतियोगिता तथा नृत्य प्रतियोगिता समेत हुनेछ । महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु ज्योति मगर, दुर्गेश थापा, प्रिती आले, कमल खत्री, मिलन लामा, टीका प्रसाईँ, एलिना चौहान, उर्गेन डोङ, करणराज गिरी, संजिवसिंह राना, ढकाराम पौडेल, टीका सानु, वलराम सरकार, विवस पाठक, रमेश मेलोडी, जादुगर गुन्द्रुके मनोज गोर्खाली, मनोज चौधरी, विना भूजेल, मीना गिरी साथमा स्थानीय कलाकारको प्रस्तुति रहने छ । क्लवका अध्यक्ष संजय तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का वडायक्ष कुलप्रसाख सापकोटा, वडा नं ६ का वडायक्ष किरण महतो, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपक खतिवडा, रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमाल, रत्ननगर शिक्षा समितिका सदस्य नेत्रप्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक सुर्यमान तामाङले स्वागत मन्तव्य राखेका थिए ।