रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकलाई अधिकारका बारेमा जानकारी गराउने उद्देश्यले कानुनी सचेतना कार्यक्रम गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन सो नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकले गरेका गिए । नगरभित्रका ८० जना ज्येष्ठ नागरिकको सहभागिता रहेको उक्त कार्यक्रममा संजिब पौडेलले ज्येष्ठ नागरिकको अधिकार, कानुनी व्यवस्था तथा पुस्तान्तरणको प्रभाब र डा.राजेन्द्रप्रसाद रेग्मीले ज्येष्ठ नागरिक सम्बन्धी व्यवहारिक पक्ष र दायित्व सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपमेयर पाठकले ज्येष्ठ नागरिकलाई उनीहरुको अधिकार र संविधानमा भएको व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

संविधानले गरेको व्यवस्था अनुसार स्थानीय सरकारले ज्येष्ठ नागरिक संरक्षण र सुरक्षाको लागि प्रयाप्त काम गरिरहेको भन्दै उनले परिवारले नपाले स्थानीय सरकारले ज्येष्ठ नागरिकलाई सुविधा दिएर पाल्ने प्रतिबद्धता जनाए । कार्यक्रममा ज्येष्ठ नागरिक संघ चितवनका अध्यक्ष माधव शर्मा घिमिरेले ज्येष्ठ नागरिकप्रतिको सम्मान हराउदै गएको भन्दै ज्येष्ठ नागरिकको अधिकारका लागि राज्य उदासीन हुन नहुने तर्क गरे । नगर स्तरीय ज्येष्ठ नागरिक संघ रत्ननगरका अध्यक्ष छविलाल घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं १३ का अध्यक्ष पोटबहादुर घिमिरेले स्थानीय सरकारले ज्येष्ठ नागरिकको अधिकार र सुरक्षाको लागि आवश्यक काम गरिरहेको बताए ।

महिला विकास अधिकृत दीपा घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा कार्यपालिका सदस्य एशोदा तिमिल्सिनाले स्वागत मन्तव्य राखेकी थिइन् । २२ हजार ४०० घरधुरी र करिब ९० हजार जनसंख्या रहेको रत्ननगरमा १० हजार १४६ जना ज्येष्ठ नागरिक छन् । प्रतिशतका आधारमा हेर्दा रत्ननगरमा कुल जनसंख्याको ११ दशमलब २८ प्रतिशत हुन आउछ । नेपालको संविधानले ६० बर्ष पुरा भएकालाई ज्येष्ठ नागरिकको सुचिमा राखेको छ ।

तपाईको प्रतिक्रिया