रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको कामना बचत तथा ऋण सहकारी संस्थाको शनिबार १६ औ बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरेले उद्घाटन गरेको साधरण सभामा संस्थामा अध्यक्ष दीपकचन्द्र शर्माले नीति तथा कार्यक्रम, सचिव सुर्यप्रसाद लामिछानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष टेकनाथ अधिकारीले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक संदिप बराकोटीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका व्यवस्थापक ओम प्रकाश गुप्ताले संस्थाले सञ्चालन गरेका आर्थिक कारोबार सहित कामना मोवाइल बैङ्किङ सेवाको बारेमा जानकारी गराएका थिए । सो अबसरमा असल उद्यमी ३५ जना र असल बचत कर्ता ८ जनालाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष घिमिरेले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नु पर्ने बताए । शेयर सदस्यहरुको जीवन स्तर उकास्ने तथा स्थानीय स्तरका आर्थिक विकास हुने गरी कारोबार सञ्चालन गर्न उनले कामना साकोसलाई आग्रह गरे ।
राष्ट्रिय सहकारी बैंक टाँडी शाखा प्रमुख नरेश कामतीले नीति, विधि र प्रविधिलाई आत्मसाथ गरेर काम गरेका सहकारीका कहिल्यै विचलन नआउने बताए । सो संस्थाले एक बर्षमा एक करोड ६७ लाख रूपैया मुनाफा गर्न सफल भएको छ । साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०८०÷८१ मा १ करोड ६७ लाख रूपैया मुनाफा गर्न सफल भएको जनाइएको छ । उक्त आर्थिक बर्षमा ६ करोड ३३ लाख ७५ हजार आम्दानी गरेको सो सहकारीले ४ करोड ६६ लाख ३३ हजार रूपैया खर्च कटाएर एक करोड ६७ रूपैया मुनाफा आर्जन गरिएको अध्यक्ष दीपकचन्द्र शर्माले जानकारी दिए । ६ हजार ३१५ जना शेयर सदस्य रहेको सो सहकारीको कुल सम्पती ४५ करोड २ लाख ९४ हजार रहेको छ ।
३३ करोड ८० लाख ८७ हजार बचत संकलन गरेको सो सहकारीले ३३ करोड २७ लाख ४४ हजार ऋण लगानी गरेको छ । ५ करोड ३१ लाख ८५ हजार शेयर पूँजी रहेको सो संस्थाले २ करोड १२ लाख८८ हजार रूपैया जगेडा कोषमा राखेको छ । करिब एक हजार शेयर सदस्यलाई धितो कर्जा, हायर पर्चेज कर्जा, कृषि कर्जा, व्यवसायिक कर्जा, घर कर्जा र साधरण कर्जा शीर्षकमा ऋण लगानी गरेको छ । कार्यक्रममा संस्थाकी कानुनी सल्लहाकार ज्वलापुरी वन, सल्लहाकार संयोजक गुरूप्रसाद अघिकारीले मन्तव्य राखेका थिए । सो कार्यक्रममा संस्थाकी उपाध्यक्ष सीतादेवी शर्माले स्वागत मन्तव्य राखेकी थिईन । संस्थाका अध्यक्ष शर्माको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव लामिछानेले सञ्चालन गरेका थिए ।