काठमाडौँ । हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छिन् ।
शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेता बनेकी हुन् । उनलाई पुरस्कारस्वरुप शनिबार अल्टो के–१० गाडी प्रदान गरिएको छ । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरेका थिए ।
प्रतिष्पर्धामा महोत्तरीका नेसन सुस्लिङ मगर फष्ट रनर अप हुँदै नगद रु पाँच लाख र झापाकी दिलमाया लिम्बू सेकेण्ड रनर अप हुँदै नगद रु तीन लाख प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट सात जनाले एक लाख बराबरको उपहार प्राप्त गरेका छन् ।
विसं २०७५ कात्तिक १७ गतेदेखि सुरु भएको यस प्रतियोगितामा देशका सातवटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएकोे थियो । काठमाडौं, विर्तामोड, ईटहरी, जनकपुर, हेटौडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा भएका अडिसन राउन्डहरुमा हजारौंको सहभागिता थियो ।
अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाकी दीलमाया लिम्बू, महोत्तरीका नेशन सुस्ङि मगर, पोखराकी सपना थापा र मकवानपुरका सन्ध्या आचार्य छनोट भएका थिए । विसं २०६६ देखि नेपाल टेलिभिजनले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले क्षमताको प्रस्फुटन हुने महत्वपूर्ण स्थान नेपाल टेलिभिजन भएको भन्दै अझै यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुतिसहित भएको विशेष कार्यक्रमको नेपाल टेलिभिजन र एनटीभी कोहलपुरले राति ८ः४० बजेबाट प्रत्यक्ष प्रसारण गरेका थिए ।
अडिसन राउन्डहरु पार गर्दै आएका प्रतियोगीहरुमध्येबाट पाँच जना प्रतियोगीहरु अन्तिम प्रतिष्पर्धामा थिए । अन्तिम प्रतियोगीहरुबाट एसएमएस भोटिङको आधारमा १ जना विजेता छानिएका छन् भने अन्य दुई जना फस्ट रनर अप र सेकेण्ड रनर अपमा छानिए । भोटिङ लाइन शनिबार राति ९ः३० बजेसम्मका लागि खुला राखिएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित नृत्याङ्गना एवं अभिनेत्री मिथिला शर्मा, कोरियोग्राफर महेश गोदार र नायिका सञ्चिता लुँइटेल रहेका थिए ।
नेपालको विभिन्न भाषा, कला, संस्कृति र साहित्यको संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले विं सं २०६६ सालमा नेपाल टेलिभिजनको रजत महोत्सवको अवसर पारेर डान्स रियालिटी शो छमछमीको शुरुवात भएको हो ।
छमछमी नाम दिएर सुरु गरिएको नेपालकै पहिलो रियालिटी शोको पहिलो सिजनमा झापाकी अनुजा अग्रवाल विजेता भएकी थिइन् भने सिजन २ मा झापाकै साजन तामाङ विजयी भए । यसैगरी तेस्रो सिजनको विजेता हेटौंडाका सरोज प्रजा भएका थिए ।
विभिन्न सिजनका विजेताहरुका साथै कार्यक्रमका अन्य प्रतियोगीहरुले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा आफ्ना प्रस्तुति दिँदै आएका छन् । जसले गर्दा कार्यक्रम छमछमी दर्शकमाझ झन् झन् लोकप्रिय बन्दै आएको छ ।
यस कार्यक्रमको प्रायोजन चौधरी ग्रुपले गरेको थियो भने बजार व्यवस्थापन कि एडभरटाइजिङले गरेको हो ।