चितवन । नारायणी महोत्सव २०७६ को शनिबार २० हजार दर्शकले अवलोकन गरेका छन् । बाल गायिका कमला घिमिरेले लाइभ दोहोरी गाउने भएपछि यति धेरै दर्शकले महोत्सव अवलोकन गरेका रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए ।

शनिबार महोत्सवमा आएका दर्शकहरु सबै सांस्कृतिक कार्यक्रम स्थलमा झुम्मिएका थिए । घिमिरेले करिब एक घण्टा प्रत्यक्ष दोहोरी गायर दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन् । घिमिरेसँग राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकार ढाकाराम पौडेलले दोहोरी गायका थिए ।

शनिबार नै कलाकार धुर्मुस सुन्तली र शिव परियारले समेत आफ्नो प्रस्तुति राखेका थिए । शनिबार बिदाको दिनका साथै कमला घिमिरे, धुर्मुस सुन्तली तथा शिव परियार आउने भएपछि दर्शकहरुको उपस्थिति उल्लेखनीय भएको राजकर्णिकारले बताए ।

आइतबार महोत्सवको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए । त्यस्तै, सोमबार भने ज्योति मगरसहितका कलाकारहरुले नारायणी महोत्सवमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम तयार भएको अधिकारीले जानकारी दिए ।

कात्तिक १५ गतदेखि सुरु भएको महोत्सव कात्तिक २५ गतेसम्म सञ्चालन हुने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । महोत्सवमा भएको आम्दानीबाट अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गरिने थापाले जानकारी दिइन् ।

प्रतिष्ठानमा हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुले शिक्षादीक्षा सँगै निशुल्क रुपमा औषधिउपचार समेत गर्दै आइरहेका छन् । विभिन्न व्यवसायिक स्टलहरुका साथै बाल उद्यान समेत राखिएको महोत्सवमा ¥याफ्टिङ गर्ने सुविधासमेत रहेको छ । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्रालि रहेको छ ।

महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।

तपाईको प्रतिक्रिया